प्रधानमन्त्रीकाे भारत भ्रमण : आत्मसम्मानसहितको परराष्ट्र नीतिको अभ्यास आवश्यक | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

प्रधानमन्त्रीकाे भारत भ्रमण : आत्मसम्मानसहितको परराष्ट्र नीतिको अभ्यास आवश्यक

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्ता,
दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने राजनीतिक विश्लेषण,
सीमा विवादलगायतका समस्या समाधान गर्ने अवसर 

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक र सांस्कृतिकरुपले अत्यन्त बलियो छ । तर पनि पछिल्लो समय सीमा विवाद, व्यापार घाटा र कूटनीतिक संवादको अभावले सम्बन्धमा चिसोपन आएको छ ।

भारतले लिपुलेक क्षेत्रमा एकतर्फी सडक निर्माण गरेपछि उत्पन्न सीमा विवाद र नेपालले लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्शामा समावेश गरेपछि द्विपक्षीय विश्वासमा थप दरार पैदा भएको छ । तर यस्तो अवस्था आउनुपर्ने कारण छैन । यस्ता समस्या समाधान र सम्बन्ध सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा लिनु आवश्यक छ । नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भौगोलिक सम्बन्धमा आधारित छ । यी दुई देशबीचको मित्रताले समय–समयमा उतार–चढाव पनि खेप्दै आएको छ । जनस्तरमा अतिनै सुमधुर रहेको दुई देशबीचको सम्बन्ध राजनीतिक स्तरमा भने विशेष गरी सीमा विवादका विषयमा चिसोपना देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको भारतको भ्रमण अत्यन्तै संवेदनशील र रणनीतिक महत्वको हुने देखिन्छ ।

नेपाल–भारत सीमाको विवाद लामो समयदेखि भए पनि २०७६ सालमा भारतले लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेपछि सम्बन्धमा दरार पैदा गरेको हो । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्शा जारी गरेपछि दुबै देशबीचको सम्बन्धमा चिसोपन आएको छ । सीमा विवादलगायतका नेपालभारत सम्बन्धमा देखापरेका समस्या समाधान गर्न गठित विज्ञ समूहले तयार पारेको प्रतिवेदन बुझ्न भारतले अझै आलटाल गरिरहेको छ । प्रतिवेदन भारतले पहिला बुझेपछि मात्रै नेपालले बुझ्नु पर्ने प्रावधानका कारण विज्ञ समूहले तयार पारेको प्रतिवेदन बेवारिसे बनेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले गर्न लाग्नुभएको भारत भ्रमणका समयमा यो विषयलाई उच्च प्राथमिकतामा राख्नु आवश्यक छ ।

दुई देशबीचको युगौँदेखिको सम्बन्ध सुधारको पृष्ठभूमिमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको भारत भ्रमणामा नेपालको कुटनीतिक भूमिका महत्वपूर्ण हुनेछ । भ्रमण औपचारिकतामा मात्र सीमित नरही, राष्ट्रिय हितका विषयमा प्रष्ट, दृढ र आत्मविश्वासी भएर कुरा उठाउनु आवश्यक छ । प्रधानमन्त्री ओलीले सीमा समस्या, व्यापार घाटा, जलस्रोतको न्यायोचित उपयोग, आपसी सम्मान र संप्रभुताको संरक्षण जस्ता विषयमा भारतीय समकक्षीसँग गम्भीर संवाद र नेपालको हितमा उपयोग गर्न आवश्यक छ । लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा नेपालको अडान प्रष्ट रूपमा राखेर दीर्घकालीन समाधानको बाटोमा जानुपर्छ ।

नेपाल र भारतबीचको सम्बन्ध विगतदेखि नै ‘खुला सीमा’ र ‘रोटी–बेटी’ को सम्बन्धले विशेष रूपमा चिनिन्छ । दुबै देशका जनताबीचको सामाजिक र पारिवारिक सम्बन्ध अत्यन्तै मजबुद छ । भारत नेपालको प्रमुख व्यापारिक साझेदार हो र हजारौँ नेपाली भारतमा रोजगारीमा संलग्न छन् । यिनै कारणले गर्दा दुई देशबीच आपसी समझदारी, सम्मान र समानताको आधारमा सम्बन्ध सञ्चालन गर्नु अत्यावश्यक छ ।

नेपालको स्वाधीन परराष्ट्र नीति, असंलग्नता र छिमेकीसँग सन्तुलित सम्बन्धको आधारमा भारतसँगको सम्बन्ध अघि बढाउनु आजको आवश्यकता हो । भारतले पनि एक सानो सार्वभौम छिमेकीका रूपमा नेपालप्रति सम्मानजनक व्यवहार प्रस्तुत गर्न जरुरी छ । प्रधानमन्त्री ओलीले गर्न लाग्नुभएको भारत भ्रमणले दुबै देशबीचको सम्बन्ध सुधार गर्ने, नयाँ आशा पैदा गर्ने र सहकार्यको नयाँ ढोका खोल्नुपर्छ । यो भ्रमण दुबै देशका प्रधानमन्त्रीले थाती रहेका नेपाल-भारतबीचका समस्या समाधानका लागि खुलेर संवाद गर्ने र साझा हितका विषयमा सहकार्य गर्ने महत्वपूर्ण अवसर हो । नेपालले पनि राष्ट्रिय हितमा केन्द्रित भएर आत्मसम्मान सहितको परराष्ट्र नीतिको अभ्यास गर्नु आवश्यक छ ।

Leave a Reply