काठमाडौँ ।
अधिकांश नेपाली युवाले सपना,उच्च आकांक्षासहित देशमै केही हुने सपना देख्न छाडिसकेका छन् ।राज्य प्रणालीले युवाको सपना पूरा गर्न योजनाबद्ध बाटो तय गर्न नसक्दा नै ८० लाखभन्दा बढी ऊर्जाशील युवा जनशक्ति देश बाहिर पलायन भएका छन् ।
१ सय ८७ देशमा श्रम स्वीकृति लिएर नेपाली युवाहरू काम गर्न गएका छन् । संसारकै गरिब वा धनी देशमा नेपाली युवाहरू श्रम स्वीकृति लिएर वा नलिएरै भएपनि रगत पसिना बगाइरहेका छन् ।
पछिल्लो २५–३० वर्षमा नेपालकै हैसियतका कोरिया, थाल्याल्यान्ड, सिंगापुर, मलेसियाजस्ता देशहरू युवा जनशक्तिको पूर्ण उपयोग गरेर अहिलेको अवस्थामा पुगेका हुन् । तर नेपालका युवाहरुलाई स्वदेशमा टिकाउने सरकारसँग कुनै योजना छैन ।
२५औँ अन्तर्राष्ट्रिय युवा दिवसको सुन्दर नारा दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि छ । तर के राज्य युवाको वास्तविक जीवनमा परिवर्तन ल्याउनेगरि अघि बढिरहेको छ त ? नेपालका सवै युवाले सजिलै उत्तर दिन्छन् छैन ।
दिवस मनाउने औपचारिकतामा नै नेपालले २५ वर्ष विताइसकेको छ । युवामा साँच्चै लगानी गरेर समग्र विकासमार्फत समृद्ध देश बनाउने शासकहरुले भन्न भने छाड्दैनन र तर युवाको हितमा काम गर्न आवश्यक ठान्दैनन् ।
नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ ।
२०७८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा छन् । कुनै पनि देशमा युवा जनसंख्या धेरै हुनुलाई अवसर र चुनौती दुवैको रूपमा लिने गरिन्छ । तर नेपालमा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दो छ । उनीहरू अवसर र रोजगारको खोजीमा भौँतारिरहेका छन् । राज्य भने यस्ता अवसरको सिर्जना गर्न चुकेको छ ।
उद्यमशीलता प्रोत्साहन गर्ने अर्थपूर्ण प्रयास र लगानी नहुँदा करिब ८० लाख युवा वैदेशिक रोजगारमा संलग्न छन् । ऋण गरेर बिदेसिने र चुक्ता गर्न वर्षाैंसम्म मजदुर भएर काम गर्नुपर्ने बाध्यता छ । परिवारसँग पर्याप्त समय बिताउन नपाउनेलगायत अनेकौं कारणले व्यक्तिगत र पारिवारिक जीवन जटिल बन्दै गएको छ ।
समाज भड्किरहेको छ । नेपालका पाखापखेराका गाउँघरमा युवा देख्न पाइदैन । नेपालको पानी र नेपालीको जवानीले छिमेकी समृद्ध बनेको छ । नेपालको सन्दर्भमा युवाको पूर्ण सम्भाव्यता उपयोग हुन नकसेको धेरै भइसकेको छ । युवाको प्रयोग राजनीतिक आन्दोलनमा मात्रै सीमित छ । आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत गर्ने प्रक्रियामा युवाको भूमिका नगण्य बनाइएको छ । यस्तो अवस्थामा दिगो विकासका लक्ष्य प्राप्त गर्न युवाहरु नेतृत्वदायी भूमिका बञ्चित गरिएका छन् ।
व्यापार व्यवसाय गर्ने सोंच साकार बनाउने उपयुक्त वातावरण नै छैन । स्नातकोत्तर गरेको युवालाई व्यवसाय सञ्चालन गर्न लगानी व्यवस्थापन गर्न पाइलैपिच्छै चुनौती छ । कर्जा सजिलै पाइँदैन । पाइए पनि धितो राख्ने केही हुँदैन ।
प्रक्रिया निकै जटिल छ । युवाको पूँजी हातमा भएको डिग्रीको प्रमाणपत्र नै हो । बैंकले अहिलेसम्म प्रमाणपत्रलाई धितो मान्दैन । त्यसैले अब रोजगार, स्वरोजगार, उद्यमशीलता र सीप विकासका लागि सहजिकरण गरेर लगानी बढाउन नसक्ने हो भने परिणाम भयावह हुनसक्ने शासकहरुले हेक्का राख्नैपर्छ ।
जवसम्म हामीले हाम्रो पानी र युवाको जवानी आफैले देशको हितमा उपयोग गर्ने नीति बनाउदैनौ तवसम्म देश उन्नतिको मृगतृष्णा अधुरै रहने छ ।





