काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा २५० प्रतिशतसम्म कर लगाउने धम्की दिएका छन् । उनले प्रस्ताव गरेका करमध्ये यो सबैभन्दा उच्च दर हो ।“हामीले औषधिहरूमा सुरुमा सानो कर लगाउनेछौँ,” ट्रम्पले सीएनबीसीको एक कार्यक्रममा भने ।
“तर, एक वर्ष, बढीमा डेढ वर्षमा यो दर १५० प्रतिशत पुग्नेछ र त्यसपछि २५० प्रतिशतसम्म पुग्नेछ । किनभने, हामी चाहन्छौँ कि औषधिहरू हाम्रो देशमै उत्पादन हुन्,” उनले स्पष्ट पारे ।
ट्रम्पले अगाडि भने, “अरू राष्ट्रहरूले औषधिबाट ठूलो नाफा कमाउँदै आएका छन् ।”त्यसक्रममा उनले चीन र आयरल्यान्डबाट आयात गरिने औषधिलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।हालैका महिनामा ट्रम्पले पटक–पटक औषधि उद्योगलक्षित व्यापारिक कारबाहीको चेतावनी दिएका थिए ।
उनका अनुसार, औषधि उद्योग सन् १९९० को दशकदेखि नै विश्वव्यापी व्यापार प्रणालीमा समाहित भएको छ । त्यसको आपूर्ति शृंखला युरोपदेखि चीन र भारतसम्म फैलिएको छ ।ह्वाइट हाउसले यसअघि पनि औषधिमा उच्च कर लगाउने प्रतिबद्धता जनाएको थियो । तर, केही समयपछि त्यसबाट पछि हटेको थियो । गएको महिना ट्रम्पले २०० प्रतिशतसम्म कर लगाउने सम्भावना उल्लेख गरेका थिए ।औषधि कम्पनीले ट्रम्पको धम्की पूरा भएमा उद्योगमा अराजकता सिर्जना हुने चेतावनी दिएका छन् ।
उच्च करले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध ल्याउनेछ । र, कम्पनीहरू बढ्दो लागत बिरामीमा सार्न बाध्य हुने वा पहिलेदेखि नै रहेको अभावलाई झनै गम्भीर बनाउने अवस्था आउन सक्छ ।ह्वाइट हाउसले यो वर्षको अप्रिलमा औषधि आयातले राष्ट्रिय सुरक्षामा पार्ने सम्भावित प्रभावबारे अनुसन्धान थालेको थियो ।
हालका महिनामा प्रमुख औषधि कम्पनीले ट्रम्पको कर धम्कीको प्रतिक्रियास्वरूप स्वदेशी उत्पादनमा ठूलो लगानी गर्न थालेका छन् ।एस्ट्राजेनेकाले अमेरिकामा आफ्नो उत्पादन क्षमता विस्तार गर्न ५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । जोनसन एन्ड जोनसनले अमेरिका आधारित अनुसन्धान र विकासमा ५५ अर्ब डलर लगानी गरिरहेको छ । एली लिलीले अमेरिकामा चार नयाँ उत्पादन कारखाना निर्माण गर्न २७ अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ ।




