काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको अविश्वासको प्रस्तावमाथि मत विभाजनका क्रममा संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
अविश्वासको प्रस्तावको पक्षमा २२ प्रदेश सभा सदस्य र विपक्षमा १५ प्रदेश सभा सदस्यको मत परेको हो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् । योसँगै मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ भने इन्द्र बानियाँलाई संसदीय दलको नेता हुने बाटो खेलेको छ ।
लामा २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै दलको नेता निर्वाचित हुनुभएको थियो ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलले कांग्रेस बागमती प्रदेश समितिलाई पत्र पठाएपछि निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने छ ।
बहादुरसिंह लामाले संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान राख्नु भएको छ । सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने अडान लिनु भएको हो । मुख्यमन्त्री हुन दलको नेता हुनु नपर्ने उहाँको तर्क छ ।





