काठमाडाैं । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ । सिंहदरबारमा शनिबार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औँ दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औँ दिन भएको बताउनुभयो । उहाँले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम शुरु गरेको बताउनुभयो । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताउनुभयो ।
उहाँले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताउनुभयो । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।





