काठमाडाैं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाउनुभएको छ । बुधबार सिंहदरबारमा ‘नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद राईले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले दौरा सुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । उहाँले पूर्व तथा निःवर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताउनुभयो । उहाँले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांसदको लोगो लगाउँदा पनि प्रहरीहरूले नचिनेको भन्दै गुनासो गर्नुभयो ।





