अधिकांश देवीनाच जेनतेन सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

अधिकांश देवीनाच जेनतेन सञ्चालनमा

ललितपुर,२० माघ । ठेचोस्थित नवदुर्गा भवानी देवी गुठीमा चिराग समात्ने गुठियार चार वर्षदेखि खाली छ । पछाडिको चिराग समात्नेहरूको ठाउँ त झन् ८ वर्षदेखि खाली छ । ३४ जना गुठियारमध्ये कुमारी, ब्रह्मायणी, महालक्ष्मी र सिंघिनी देवगण समात्ने ४ जना पोमी, कुमी सामान ओसार्ने व्यक्ति गरी ८ जनाको पद पनि ८ वर्षदेखि खाली छ ।

मल्लकालमा उपत्यकालाई दक्षिणी भेगबाट हुन सक्ने सम्भावित आक्रमणबाट बचाउन शक्तिपीठको रूपमा स्थापना गरिएको मान्यता रहेको देवी नाच अहिले जेनतेन सञ्चालनमा छ । नवदुर्गा नाच सञ्चालन गर्न अनिवार्य अगाडि पछाडि चिराग समात्ने गुठियार नभएपछि गुठीबाहिरका अन्य व्यक्तिले काम चलाइरहेका छन् । ऐतिहासिक नाच लोप हुनबाट बचाउन ठेचोका स्थानीयवासी शुक्रबार संस्कृति मन्त्रालयमा ध्यानाकर्षण गर्न पुगे । उनीहरूले नाच लोप हुने अन्तिम अवस्थामा पुगेको भन्दै मन्त्रालयमा संरक्षणको खाका दर्ता गरेका छन् ।

‘नाचको संरक्षण सम्बद्र्धनमा राज्य गम्भीर नहुँदा लोप हुने अवस्थामा पुगेको छ, नवदुर्गा नाचका गुरु धर्मराज मालीले भने, ‘गुठीको जमिनबाट वार्षिक १२ हजार रुपैयाँको मात्र कुत भित्रिन्छ । तर, वर्षभरिमा १२ पटक नाच सञ्चालन गर्न लाखौ रुपैयाँ लाग्छ ।’ संस्कृति मन्त्रालयका पुरातत्त्व अधिकृत जयन्ती श्रेष्ठले मन्त्रालयको बजेटले भ्याएसम्म सहयोग गर्ने बताइन् । मन्त्रालयबाट नवदुर्गा नाच सञ्चालन गर्न वार्षिक २५ हजार रुपैयाँको व्यवस्था गरेको छ । आर्थिक अभावका कारण विजया दशमीमा पाटन दरबार स्क्वायरस्थित मूल चोकमा नचाउने नाच बन्द भइसकेको छ ।

गुठियारहरूले मन्त्रालयमा पेस गरेको प्रस्तावमा दैनिक बिहान र बेलुका नित्य पूजा, अक्षय तृतीया, घण्टाकर्ण र पञ्चदान पर्व सञ्चालन र विधिपूर्वक होम, जप गर्न आवश्यक सामग्री खरिद गर्न समस्या भएको उल्लेख छ । होम, जप गर्न मात्रै ६६ हजार रुपैयाँ लाग्ने, पाटन दरबार क्षेत्रमा नाच व्यवस्थापन, बाजा मर्मत, मुकुट रंगरोगन, धिमे बाजा खलक, इन्द्र बाजा, कसही खलक व्यवस्थापन र समापन पूजा गर्न २ लाख रुपैयाँ आवश्यक रहेको उल्लेख छ ।

नाच संरक्षणको अभावले सञ्चालनमा कठिनाइ भएको भन्दै खोकनाका रुद्रायणी गुठियारहरूले पनि ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । रुद्रायणी गुठीका नाइके बेखनर महर्जनले यस्तै स्थिति रहिरहे नाच बन्द गर्नुपर्ने बताए । ‘सरकारबाट गुठीको जग्गा सबै रैकरमा परिणत भयो,’ उनले भने, ‘अहिले नाच गुठियारहरूले व्यक्तिगत रूपमा रकम राखी सञ्चालन गरिरहेका छौं ।’
हरिसिद्धिको हरिसिद्धि भवानी देवीको नाचका गुठियारहरूको समस्या पनि उस्तै छ । फागुपूर्णिमाको अवसरमा नचाइने नाच प्रदर्शन गर्न एक महिना मात्र बाँकी छ । हरिसिद्धि गुठीका नाइके राइटर महर्जन भन्छन्, ‘रामायणको अरण्य र किस्किन्धा काण्डमा आधारित नाचमा १८ भागमा दृश्य देखाउनुपर्छ ।

एक पटक नाच सञ्चालन गर्न कम्तीमा ३ लाख रुपैयाँ लाग्छ ।’ उनका अनुसार नाचको अध्ययन अनुसन्धानमा स्वदेशीभन्दा विदेशी बढी आकर्षित छन् । ‘ललितपुर महानगरपालिकाले बर्सेनि एक करोडभन्दा बढी राजस्व विदेशी पर्यटकबाट भित्र्याउने गरेको छ,’ उनले भने, ‘नाच देखाएर पर्यटक तान्ने गरे तापनि संरक्षणतर्फभने राज्यको ध्यान पुग्न सकेको छैन ।’

सांस्कृतिक नगरी बनाउने घोषणा भएको पाटन क्षेत्रको हविगत यस्तो छ । अहिले भक्तपुर दरबार क्षेत्रमा सञ्चालन भइरहेको नवदुर्गा नाच पनि जेतनेत चलिरहेको गुठियारहरूको भनाइ छ । भक्तपुर नवदुर्गा गुठियार शिवराम वनमालाले नाच नाजुक अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रपतिको पटक–पटक ध्यानाकर्षण गराइसकेको बताए । ‘सरकारी पक्षले संरक्षण गर्ने आश्वासन मात्र दिने गरेका छन्,’ उनले भने, ‘जनप्रतिनिधि आएको महसुस भएन ।’

उपत्यकाका तीनै जिल्लामा ८ वटा देवी नाच सञ्चालन गर्ने गुठी छन् । प्रत्येक १२ वर्षमा नचाइने काठमाडौंको नरदेवी पनि यस वर्ष जेनतेन सञ्चालन भयो । आर्थिक समस्याकै कारण दुई वर्षअघि भद्रकाली खड्ग सिद्धि नाच पाटन दरबार क्षेत्रमा सञ्चालन भएन । कीर्तिपुरको बाघभैरव नाच सञ्चालन गर्न पनि उस्तै समस्या रहयो । उपत्यकाका तीनै दरबार क्षेत्रसँग लिच्छवी, मल्ल र शाह गरी तीन वंशकालीन पर्व सम्बन्धित छन् । पाटन दरबार क्षेत्रसँग सम्बन्धित मुख्य ७ पर्व छन् । तीमध्ये ३ वटा पर्व लोप भइसकेका छन् । लिच्छवीकालीन मूछेँ आँग द्यपूजा विधि पूर्व मुख्य लोपसँग मल्लकालीन नवदुर्गा नाच, खड्गजात्रा, अष्टमात्रिका नाचको हवन रोकिएका छन् । यी लोप भइसकेका पर्व जसरी भए पनि पुन सञ्चालनमा ल्याउने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको योजना छ । ‘सरकारी निकायबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार छौं,’ मेयर महर्जनले भने, ‘सरकारको मुख मात्र तोकेर हुदैन । गुठियारले पनि सक्दो योगदान दिनुपर्छ ।’

खड्गजात्रा सञ्चालन गर्ने गुठियार सन्तमान महर्जनले सरकारी पक्षले सहयोग गरेमा गुठियार लोप भइसकेको नाच पुन सञ्चालन गर्न तयार रहेको बताए । ‘खड्गजात्रा सुरक्षाको चुनौतीका कारणले लोप भएको हो,’ उनलेभने । लोप भइसकेका नाचहरू पुन सञ्चालन गर्न गुठियारहरूको बैठक बोलाउने तयारी भइरहेको बताए । आजको कान्तिपुरमा खवर छ ।

ताजा समाचार