टीकापुर, १७ असोज । दसैं नजिकिँदै जाँदा कैलालीका थारू गाउँमा सखिया सुरु भएको छ ।
गुरुवाले नाँचमा प्रयोग हुने मादल मन्जिरा लगायतको पूजा गरेपछि थारू महिलाले सखिया नाच्न सुरु गरेका हुन् । नाचमा कुनै बाधाअवरोध नहोस् भन्दै नाच सुरु हुनुभन्दा पहिले पूजा गर्नुपर्ने जानकी गाउँपालिका–६ का भागीराम थारूले बताए । ‘यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देउताको पूजा गर्छ,’ उनले भने ।
थारू भाषामा सखीको अर्थ साथीसंगी हुन्छ । गाउँका सबै साथसिंगी मिली नाचिने भएकोले यसको नाम सखिया हुन गएको भागीरामले बताए । दसैको टीकाको दिनसम्म केटा र केटी मिली गरिने सखिया नाचले थारू गाउँको एकताको भावना प्रकट हुने पनि उनले बताए ।
‘नाचको बहानामा सबै मान्छे भेला हुने भएकाले गाउँको विषयमा छलफल र भावना साटासाट हुन्छ,’ उनले भने । सखिया नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्दछन् । केटाले भने सेतो रंगको धोती र रुचिअनुसारको रंगको कमिज लगाउने गर्दछन् । थारूहरूले विवाहमा दुलहीलाई सेतो फरिया लगाइदिन्छन् ।
त्यही फरिया नाच्नमा प्रयोग हुने जानकी गाउँपालिका ६ का लालवीर चौधरीले बताए । भने, ‘यो नाचमा थारू युवतीले नाच्ने र युवाले मादल बजाउने गर्दछन् । यो नाचमा जति धेरै मादल बजे त्यति नै रौनकता हुन्छ ।’
उनका अनुसार यो नाचका लागि कम्तीमा ४ जना मादले हुनैपर्छ । नाच्नुअघि सखिया नाच्ने युवतीहरूले मूल मादलेको मादल रंगीविरंगी कपडाले सजाइदिने चलन छ । नाचमा भने भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने जानकी गाउँपालिका ३ की सुनकेशरी चौधरीले बताइन् ।
‘कृष्ण भगवानको जीवन कथामा आधारित गीत नसकिएसम्म नाच सकिन्न,’ उनले भनिन्, ‘गीत सकिएपछि मात्र नाच सकिन्छ ।’सखिया सुरु भएपछि थारु गाउँमा दसैंको रौनक सुरु भएको भोजबहादुर चौधरीले बताए । थारू समुदायको मुख्य नाचमध्येको सखिया सम्वद्र्धन र प्रवद्र्धनका लागि भने सरकारी निकायको कुनै चासो नदेखाएको उनको गुनासो छ ।
‘यो नाच अलि खर्चिलो पनि छ,’ उनले भने, ‘यसको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले चासो देखाएर बजेट विनियोजन गर्न सक्थ्यो तर गरेको पाइँदैन ।’अरू दिन गाउँको बडघरको घरमा सबै जम्मा भई नाचिने यो नाच दसैमा भने गाउँका सबैका घरमा नाच्ने चलन छ । घरमा नाच्न गएपछि घरमुलीले गच्छेअनुसारको दाम दिइपठाउने गर्दछन् । सखिया नाचिने थारू गाउँमा दसैंभरि निकै रौनकता हुन्छ ।
दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैमा दिनभरि नाच्ने गरिन्छ । सखिया नाच सकिएपछि सबै मिली माछा र अन्य परिकार तयार पारी खाने गर्दछन् । कान्तिपुरबाट




