चैत १८ सोमबार ।
बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो ।सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए ।
उनका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो ।
परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ ।जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बाग्लुङ नगरपालिकाका खानेपानीमा कोलिफर्म परीक्षण गरिरहेको छ ।
धेरै ठाउँबाट परीक्षण गर्न आग्रह गरेकाले विस्तारै सबै पालिकामा परीक्षण गरिने उनको भनाइ छ ।कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन । यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी लगायत पानीजन्य रोग लाग्ने भएकाले जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ ।