२०८१,११,१७
काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवानाबारेको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ । अस्ति शुक्रवार पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा काठमाण्डौको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा विभिन्न ठाउँमा फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो ।
पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटमा रोकेर त्यहाँबाट फिर्ता पठाइएको हो । निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाण्डौ महानगरपालिकाले कानूनी प्रक्रियाबाट अगाडि बढ्ने जनाएको छ । पत्र हुलाकमार्फत पठाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।