पोखरा, १८ माघ । पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुने भएको छ ।
आज सम्पन्न सेमिफाइनलमा धरान फुटबल क्लवलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिसले यसअघि नै फाइनलमा पुगेको थ्री स्टारसँगको भेट पक्का गरेको हो । पुलिसलाई फाइनलमा पुर्याउन पहिलो हाफको २२ औं मिनेटमा सुमन लामाले पेनाल्टीमार्फत गरेको गोलनै निर्णायक बन्यो । डि बक्सभित्र धरानका रोमन लिम्बुले पुलिसका रबी पासवानलाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो ।
खेलअवधिभर पाएका केही मौका गुमाउँदा धरान फुटबल क्लव सेमिफाइनलबाटै घर फर्कन बाध्य बन्यो । पुलिसले अब उपाधिका लागि थ्री स्टार क्लबसँग माघ २० गते प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै थ्री स्टार उपाधिका लागि फाइनल खेल पर्खिरहेको छ । आहा रारा गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन् ।