२०८१,९,२६
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको व्यापारको विकल्प खोज्नुपर्ने बताएका छन्।शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो आग्रह गरेका हुन्। उनले नेपाल आयल निगमको व्यापार घट्दो अवस्थामा रहेको भन्दै ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए। उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे।
उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिए नयाँ कुराको खोज्न आवश्यक रहेको बताए। मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने स्पष्ट पारे। उनले पेट्रोलियम पदार्थको विकल्पको सिर्जना भएकाले अब निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रमा पर्ने नयाँ खाले काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए।
उनले नयाँ काम नखोजे तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्ने बताए। उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए। उनले अत्यावश्यक वस्तुको ढुवानी, व्यवस्थापन, वितरण र व्यावसायिकतामा निगमले सफलता पाए पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताए।
उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढंगमा लैजाने कार्ययोजना बनाउन आवश्यक देखिएको उल्लेख गरे। उनले एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयको प्रस्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए।
मन्त्री भण्डारीले भने‚ ‘नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो छ। व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ। तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै समय छैन। निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्छु।’
उनले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताए। उनले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने सरकारको तयारी रहेको बताए।