पौष १७ बुधबार
सत्तारुढ दल नेकपा एमालेले संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउन फोकल पर्सन तोकेको छ । समितिमा रहेका विधेयकहरूमा पार्टीको तर्फबाट संयोजन गर्नको लागि पाँच नेतालाई जिम्मेवारी दिइएको प्रमुख सचेतक महेश बर्तौँलाले बताए ।
उनले भने, ‘एमालेको तर्फबाट पाँच वटा समितिमा रहेको विधेयकहरूमा काम गर्न समितिमा भएका सदस्यहरूलाई नै पार्टीको तर्फबाट संयोजन गर्न जिम्मेवारी दिएका हौं । उहाँहरूले समितिमा विधेयकलाई अगाडि बढाउन संयोजन गर्नुहुन्छ ।उनले अनुसार विधेयकमा सहजीकरण गर्न पूर्वाधार समितिमा गोकर्ण विष्ट, राज्य व्यवस्था तथा सुशासन समितिमा रघुजी पन्त, अर्थ समितिमा सूर्य थापा, कानून समितिमा नैनकला थापा र शिक्षामा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।
सत्तारुढ दलहरूबीच मात्रै नभएर विपक्षी दलहरुसँग पनि विधेयकको विषयमा सहमति गरेर अघि बढ्नका लागि प्रमुख सचेतक र सचेतकहरूले पनि काम गरिरहेको बताए । त्यसका लागि कांग्रेस र एमालेले कार्यदल नै बनाएको छ । एमालेले जस्तै विधेयकहरू अघि बढाउन कांग्रेसले पनि फोकल पर्सन तोक्ने तयारी गरेको छ ।