किन फर्किएनन् नेपाली वैज्ञानिक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

किन फर्किएनन् नेपाली वैज्ञानिक ?

medical scients

काठमाडौं,१६ माघ । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन् । नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नास्टले अघिल्लो वर्षको अन्त्यतिर लोकप्रिय नारा दिएर सुरु गरेको यो कार्यक्रमले निकै चर्चा पाए पनि विदेशमा कार्यरत वैज्ञानिकलाई भने आकर्षित गर्न सकेन । नास्टले विदेशमा कार्यरत वा विदेशबाट फर्किएको एक वर्ष पूरा नभएका वैज्ञानिकलाई विज्ञानका क्षेत्रमा अनुसन्धानमा लगाउने जनाएको थियो । नास्टका अनुसार १९ जनाले आवेदन दिए पनि अन्तिममा चार जना मात्र छनोट गरिएको थियो । तीमध्ये दुई जना नास्टमै आएर काम गरिरहेका छन् भने दुई जना छनोट भए पनि नेपाल नफर्किएको नास्टले जनाएको छ । नास्टको कार्यक्रमअन्तर्गत एक दशकदेखि दक्षिण कोरियामा कार्यरत डा। माधव न्यौपाने र डा। लक्ष्मीप्रसाद थापा फर्किएका हुन् ।

नास्टका उपकुलपति डा. जीवराज पोखरलले विदेशमा रहेका नेपाली वैज्ञानिकको क्षमतालाई उपयोग गर्ने नीतिअनुसार यो कार्यक्रम सुरु गरिए पनि अपेक्षाकृत सफलता पाउन नसकेको स्विकारे । उनले भने, ‘उहाँहरूको सीप र अनुभवलाई आफ्नै देशमा उपयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेका थियौं, सोचेजस्तो परिणाम आएन ।’

पछिल्लो समय नेपालबाट वैज्ञानिक पलायन बढेकाले नास्टले यस्तो कार्यक्रम ल्याएको थियो । सीमित साधन स्रोतका कारण पनि वैज्ञानिकलाई आकर्षण गर्न नसकिएको नास्टको निष्कर्ष छ । सरकारले उक्त कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । ‘हामीसँग बजेट नै कम थियो, नास्टमा कार्यरत वैज्ञानिक साथीहरूले पाए जति नै सेवा सुविधा दिने हो’, उपकुलपति पोखरेलले भने, ‘तर विदेशमा कार्यरत साथीहरूको अपेक्षा बढी देखियो ।’

सरकारले स्वदेश फर्किका वैज्ञानिकलाई उपसचिव तहको सुविधा दिएको जनाएको छ । विदेशमा राम्रो सेवा सुविधा उपभोग गरिरहेकालाई सरकारी सुविधाले आकर्षण गर्न नसकेको नास्टमै कार्यरत वैज्ञानिकको ठहर छ । खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);