यसरी सिकेका थिए सन्दीपले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यसरी सिकेका थिए सन्दीपले

sandeep lamichane

काठमाडौं,१६ माघ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का सोमबार चितवन क्रिकेट एकेडेमीमा ।

सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि पनि चर्चामा छ । खड्कासँग तीन वर्ष एकेडेमीमा प्रशिक्षण लिएका सन्दीप इन्डियन प्रिमियर लिग आईपीएलमा पुगेका छन् । यसै मेसोमा प्रशिक्षक खड्काले कान्तिपुरका विनोद पाण्डेसँग यसरी सम्झिए सन्दीपलाई

जब सन्दीप भारतबाट आएर नवलपरासीको रजहरमा बसेका थिए, उनले चितवनको क्याम्पाचौरमा एउटा एकेडेमी भएको र त्यसमा मैले प्रशिक्षण दिन्छु भन्ने थाहा पाएर सीधै भेट्न आए । आउनेबित्तिकै सीधै मेरो खुट्टा छोए । म एकछिन अकमक्क परें । मैले प्रशिक्षण दिएको खेलाडी त होइन, को हो भनेर प्रश्न गरें । उनले मलाई गुरु मानिसकेका थिए सायद । उनको व्यवहार र अनुशासन देखेर अचम्म परें । खेलाडीमा हुनुपर्ने तीन गुण समर्पण, मिहिनेत र अनुशासन पहिलो भेटमै देखाएका थिए, जसले मेरो मनमा छोयो ।

उनले सोधे ‘मैले यहाँ अभ्यास गर्न के गर्नुपर्छ ’ भनेर । अर्को दिनदेखि उनी निरन्तर अभ्यासमा आए । उनले फालेको पहिलो बल टर्न भएको देख्दा लुकेको प्रतिभा भेटेजस्तो महसुस गरें मैले । यो खेलाडीमा केही न केही त छ भन्ने लाग्यो । ‘ग्रुम’ गर्न सक्यो भने के थाहा मैले, जिल्लाले मात्र नभई देशले नै एउटा राम्रो खेलाडी पाउँछ भन्ने मलाई त्यति नै बेला लाग्यो । त्यसपछि उनका लागि निकै मिहिनेत गरें । जतिखेर उनी आएका थिए, त्यत्तिखेर उनको स्लो स्पिन थियो । ‘अलिकति बलिङ स्पिड बढायौ भने नेपालको कुनै पनि ब्याट्सम्यानलाई ट्रयापमा पार्न सक्छौं, किनभने नेपाली ब्याट्सम्यानको स्तर अहिले राम्रो छ’ भनें मैले । उनले त्यसपछि थप मिहिनेत गरे । मैले ब्याटिङ गरेर उनलाई बलिङ गर्न लगाएँ । २५ वटा जति बलमा मैले ८ \ ९ वटा छक्का प्रहार गरेको थिएँ । उनलाई महसुस गराउन खोजेको थिएँ कि, यो स्थितिमा यस्तो बलले गाह्रो हुन्छ भनेर । एकेडेमीमा अन्य खेलाडीको तुलनामा उनको स्तर माथि नै थियो । तर पनि माथिल्लो स्तरमा यतिले मात्र पुग्दैन भनेर उनलाई महसुस गराएँ । पछि उनले मिहिनेत मात्र गरेनन्, बलिङमा गति बढाएर विविधता ल्याए । त्यसैको प्रतिफल उनी आज आईपीएल खेल्न सफल भएका छन् । उनी यहाँ आउँदै प्रतिभा लिएर आएका थिए । उनले पहिलो बलमै त्यो खुबी देखाएका थिए । सन्दीप फर्किएर आएपछि फेरि उनको बलिङमा ब्याटिङ गर्ने मेरो धोको छ ।

त्यसपछि म कतिको ट्रयापमा पर्छु, अनि मलाई थाहा हुन्छ उनको बलिङ सुधारिएको छ भनेर । नयाँ खेलाडीलाई सन्दीपको आईपीएल यात्राले धेरै प्रभाव पार्नेछ । धेरै स्कुलले सन्दीपको प्रशिक्षक भन्दै ‘हाम्रा विद्यार्थीलाई सिकाइदिनुपर्‍यो’ भनेर आग्रह गरिरहेका छन् ।सन्दीपसँगै यहाँ एकेडेमीमा खेलेका खेलाडीले के बुझेका छन् भने भाग्यका साथै मिहिनेत पनि चाहिन्छ भनेर । आईपीएल नै मात्र नभई नेपालको टिमसम्म पुग्न पनि यो आवश्यक छ ।

अस्ट्रेलिया खेल्न जाँदा उनले मसँग केही टिप्स चाहियो भनेर मागेका थिए । मैले तिमीसँग माइकल क्लार्क जस्तो खेलाडी छन् भनेर जिस्काएको थिएँ । मैले एउटा कन्डिसन र अर्को स्थिति हेर्नु भनेको थिएँ । मैले यो बल, यस्तो बल, गुगली फाल भनेर भन्न जरुरी थिएन किनेभने उनीसँग पहिल्यै प्रतिभा थियो । कन्डिसन फरक भन्नाले क्लाइमेट हेर्नु, स्थिति भन्नाले त्यहाँको ब्याट्सम्यानहरूको उचाइ हेर्नु । उनीहरू ६ फिट माथि छन् भने तिमीले नेपालमा जस्तो गुड लेन्थ फाल्दा ओभर पिच हुन सक्छ त्यो हेर्नु भनेको थिएँ । त्यसपछिको खेलमा २ \ ३ विकेट लिएपछि उनले अस्ट्रेलियाबाटै फोन गरेर मलाई धन्यवाद दिएका थिए ।

उनी सम्पर्कमा रहिरहन्छन् । काठमाडौंबाट फर्किनेबित्तिकै समय मिल्यो भने यहाँ क्याम्पाचौरमा आएर प्रशिक्षण गरेर मात्र घर जान्छन् । उनमा क्रिकेट खेल र आफ्नो टिमप्रति लगाब छ । आईपीएल उनका लागि ट्रायल जस्तै हो । उनले धेरै सिक्ने अवसर पाउँछन् । त्यसले उनको सपना अस्ट्रेलियाको बिग बाससम्म पनि पुर्‍याउन सक्छ ।

जब सन्दीप आईपीएलमा परेको समाचार सुनें, आश्चार्य लागेको थियो । एकछिन अन्योलमै परें । सामाजिक सञ्जालमा खबर भाइरल भइरहँदा कतै सपना नै देखें कि जस्तो पनि लाग्यो । उनी यति चाँडै आईपीएल जस्तो प्रतियोगितामा छानिन्छन् भनेर मैले चिताएको थिइनँ । वास्तवमा टेस्ट नखेल्ने राष्ट्रका खेलाडीलाई खासै मौका पनि आउँदैन । अफगानिस्तान र आयरल्यान्डजस्ता राष्ट्रको दाँजोमा नेपालले एसोसिएट राष्ट्रमा त्यत्ति उपलब्धि पाइरहेको पनि छैन ।

उनको क्षमता हेर्दा नेपाली टिममा राम्रो खेलाडीका रूपमा उदाउँछन् भन्ने सुरुमै लागे पनि आईपीएलमा छनोट हुँदा चकित नै बनें । हाम्रो स्तर हेर्दा हामीले आईपीएलमा पुग्न अझै १० \ १५ वर्ष कुर्नुपर्ला जस्तो लागेको थियो । हामी अहिले विश्वकप र एकदिवसीय मान्यताका लागि संघर्ष गरिरहेका छौं । त्यसैले भोलिका दिनमा राम्रो गरेमा हाम्रा खेलाडी आईपीएलमा पुग्न सक्छन् भन्ने ठाने पनि यति चाँडो नेपाली खेलाडीलाई यो सफलता हात पर्छ भन्ने मैले ठानेको थिइनँ ।आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);