नास्टमा वैज्ञानिकलाई हाजिर गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नास्टमा वैज्ञानिकलाई हाजिर गर्न रोक

nast

काठमाडौं, १४ साउन । सरकारले करार कर्मचारीलाई असोजसम्म काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा भने तीन जना वैज्ञानिकले हाजिर गर्न पाएका छैनन्।

सरकारको निर्देशन अवज्ञा गर्दै नास्टका पदाधिकारीले वैज्ञानिकहरूलाई साउन १ देखि हाजिर गर्न रोकेका हुन्। तीन वर्षदेखि नास्टमा कार्यरत वैज्ञानिकहरू डा. अनुप बस्नेत, डा. पुष्पराज आचार्य र डा. किशोर पाण्डेलाई हाजिर गर्न रोक लगाउँदै काम गर्न दिइएको छैन। नास्टका सचिव डा. बुद्धिरत्न खड्गीले अवधि सकिएकाले करार थप नगरिएको बताए। उनले भने, ‘उहाँहरू अर्कै प्रक्रियाबाट आउनुभएको हो। सेवा करारमा उहाँहरू काम गरिरहनुभएको थियो। त्यसको समय सकियो। अब निरन्तरता दिइराख्नुपर्छ भन्ने छैन।’

खुला प्रतिस्पर्धाबाट नै छनोट भएका ती वैज्ञानिकहरूको तीन वर्षदेखि करार थप हुँदै आएको थियो। तर अहिले भने नास्ट प्रशासनले सेवा करार देखाएर उनीहरूलाई हाजिर गर्न रोक लगाएको छ। ३० जना करार कर्मचारी रहेकोमा बाँकी २७ जनाले काम गरिरहेका छन्। सेवा करारबाट कर्मचारी पदपूर्ति गर्ने प्रावधान नरहे पनि नास्टकै पदाधिकारीले कानुनविपरीत उनीहरूलाई सेवा करारमा नियुक्त गरेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले सेवा करारबारे आफू पनि अनभिज्ञ रहेको प्रतिक्रिया दिए। उनले भने, ‘करार भन्ने त थाहा थियो तर सेवा करार भन्ने मलाई पनि थाहा भएन। म यसबारे बुझ्नेछु।’ सचिव बिसीले नास्टका सचिव खड्गीलाई फोनमार्फत तीनै जना वैज्ञानिकलाई हाजिर गर्न निर्देशन दिइसकेका छन्। तर नास्टले भने सचिवको निर्देशन अझै कार्यान्वयन गरेको छैन। हाजिर गर्न नपाएका वैज्ञानिकहरूले कुनै प्रतिक्रिया दिन मानेनन्।

‘एकातिर विदेशमा रहेका वैज्ञानिक स्वदेश फर्काउने अभियान चलाउने अनि अर्कोतर्फ देश फर्किएका वैज्ञानिकलाई फेरि विदेशतिरै लखेट्ने योजना नास्टको देखियो’, नास्टका एक वैज्ञानिकले भने, ‘नत्र भने किन ती साथीहरूलाई हाजिर गर्न दिइएको छैन । यसले वैज्ञानिकको थलो नास्ट नै वैज्ञानिकमैत्री छैन भन्ने स्पष्ट हुन्छ।’

यसअघि नास्टले ‘फर्क है फर्क वैज्ञानिक’ अभियानअन्तर्गत स्वदेश फर्किएका दुई जना वैज्ञानिकको पनि करार अवधि थप नभएपछि एक महिनाअघि उनीहरू विदेश उडेका थिए। यसवर्ष पनि नास्टले यो अभियानअन्तर्गत आवेदन आह्वान गरेको थियो तर एक जना वैज्ञानिक पनि स्वदेश फर्किएनन्।

तीन वर्षदेखि कार्यरत वैज्ञानिकहरू डा. अनुप बस्नेत, डा. पुष्पराज आचार्य र डा. किशोर पाण्डेलाई नास्टमा हाजिर गर्न रोक लगाएर काम गर्न दिइएको छैन। नास्टले हाजिर गर्न नदिएका तीनै जना वैज्ञानिक विज्ञान संकायअन्तर्गत कार्यरत थिए। संकायले जनशक्ति आवश्यक रहेको भन्दै तीनै जनाको करार थप गर्न उपकुलपति डा. जीवराज पोखरेलकहाँ टिप्पणी पठाइसकेको छ। उपकुलपति पोखरेलले पनि करार थप गर्न भन्दै सचिव खड्गीलाई टिप्पणी पठाइसकेका छन्।

वैज्ञानिक पाण्डे र बस्नेत जापानबाट अध्ययन गरेर फर्किएका हुन् भने आचार्य थाइल्यान्डमा अध्ययन गरी फर्केका हुन्। नास्टले केही वर्षअघि वैज्ञानिक पाण्डेलाई ‘युवा वैज्ञानिक’ सम्मान गरेको थियो। पाण्डेले नै अनुसन्धान गरी देशको उच्च पहाडी क्षेत्रमा पनि कालोज्वरो फैलिएको पत्ता लगाएका हुन् भने काठमाडौं उपत्यकाको पानी कति पिउन योग्य छ भनेर वैज्ञानिक बस्नेतसहितको समूहले अनुसन्धानन गरेको हो।

नास्टका वैज्ञानिकहरूले हाजिर गर्न नदिइएका तीनै जनालाई करारमा काम गर्ने वातावरण बनाउन उपकुलपति पोखरेल र सचिव खड्गीसँग आग्रह गरेका छन्। विज्ञान प्रविधिका क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्ने एक मात्र सरकारी स्वायत्त संस्था नास्टमै काम गर्ने वातावरण नभएको गुनासो वैज्ञानिकहरूले गर्दै आएका छन्। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);