२५ जेठ, काठमाडौं । पार्टीको तर्फबाट मन्त्रिमण्डलमा सहभागि हुने मन्त्री छनोटका विषयलाई लिएर नेपाली कांग्रस भित्र विवाद देखिएको छ ।
पहिलो चरणमा आफ्नो पक्षका नेतालाई मन्त्रीमण्डलमा सहभागी नगराएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्ट ब्यक्त गरेपछि बिहिवार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बिहिवारको बैठकमा पौडेल पक्षीय नेताले सरकारमा आफ्नो पक्षलाई समेत सम्मानजनक स्थान पाउनु पर्ने माग गरेका थिए ।
बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवालाइ समर्थन गर्ने दलका नेताहरुसँग छलफल गरेर सरकार बिस्तारका बारेमा निर्णय गरिने बताउनुभयो । प्रधानमन्त्री देउवाले बुधवार गठन गर्नुभएको ८ सदस्यीय मन्त्रिमण्डलमा आफ्ना पक्षीय नेताहरु गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरलाई मात्र सहभागी गराउनुभएको थियो ।
यसैबीच स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेद्वार चयन गर्ने विषयमा पनि नेपाली कांग्रेस भित्र विवाद देखिएको छ । उम्मेद्वार चयनको विषयमा विवाद देखिएपछि बिहिबार बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठकले दुई दिनभित्र विवाद समाधान गरी उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरेको हो । बैठकपछि नेता अर्जुननरसिंह केसीले उम्मेदवारी चयनका क्रममा केही ठाउँमा विवाद देखिएपनि पनि दुई दिन भित्रै टुंगो लगाउने गरी आन्तरिक छलफललाई तीव्रता दिइएको बताउनुभयो ।