५ खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।
पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १–१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । पाचौं ओभरमा क्रिजमा पुगेका रोहितले अन्तिम सम्म रहेर टोलीलाई जित दिलाउने प्रयास गरेका थिए । तर अन्य ब्याटरको साथ पाउन नसक्दा उनले टोलीलाई पार लगाउन सकेनन ।
अन्तिम दुई ओभरमा २६ रन चाहिएकोमा नेपालले ओबेद म्याककोयको १९औ ओभरमा ९ रन बनायो । पहिलो बलमा रोहितले कुनै रन बनाउन सकेनन् । दोस्रो बलमा भने उनले चौका प्रहार गरे । तेस्रो बलमा २ रन लिने क्रममा आकाश चन्द रन आउट हुन पुगे । चौथो बलमा सागर ढकालले रोहितलाई स्ट्राइक दिए ।
२ बलमा ११ रन चाहिएको अवस्थामा रोहितले दुवै बलमा रन बनाउन नसकेपछि नेपाल पराजित हुन पुगेको हो । वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र गुडाकेश मोतीले समान २–२ विकेट लिए । यस्तै ओशेन थोमस र रोस्टन चेज १–१ विकेट लिन सफल भए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले १ सय ६० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।
आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए । शृंखलाको तेस्रो खेल आउँदो बुधवार हुनेछ ।
०००