काठमाडौं, १५ माघ । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. जर्ज जिओभान्नी फ्राइडेनले नेपाल अब विकासको चरणमा प्रवेश गर्न ढिलाइ गर्न नहुने बताएका छन् । कार्यकाल सकेर स्वदेश फर्कने क्रममा कान्तिपुरसँग कुरा गर्दै फ्राइडेनले नेपालले राजनीतिमा फड्को मारेको र आर्थिक उन्नतिको बाटो तय भएकाले अब त्यसमा लाग्नुपर्ने सुझाव दिए ।
उनले विकासका लागि निजी क्षेत्रसँग सहकार्य र अन्तर्राष्ट्रिय लगानी प्रमुख रहेकाले यसमा सबै प्रदेशले ध्यान दिनु जरुरी रहेको बताए । ‘डेढ दशकको पर्खाइमा उन्नतिको आधार तय भएको छ । शान्ति प्रक्रिया र सम्झौता कार्यान्वयनको पक्षमा उपलब्धि हासिल भएका छन्, हुने क्रममा छन् । तर, विकास धिमा छ, यसमा लाग्नुपर्छ ।’ राजदूत फ्राइडेनले दक्षिण एसियामा प्रतिस्पर्धी मुलुकका रूपमा अघि बढेको नेपाल हेर्ने आशासहित आफू फर्कन लागेको पनि उल्लेख गरे ।
उनले नेपालमा राजनीतिक चेतना धेरै बढिसकेको र शिक्षामा पनि फडको मारिरहेको पनि बताए । ‘यहाँ खाँचो थियो त राजनीतिक स्थिरताको । त्यसतर्फ नेपाल अग्रसर देखिएको छ । संविधान जारी, तीनै चरणको सफल निर्वाचनलगायतले नेपालले आफ्नो बलियो पक्ष विश्व समुदायलाई देखाइसकेको छ,’ उनले भने, ‘तर मधेसको समस्या सल्टिइसकेको छैन । समाधान भएर जाने विश्वास छ ।’
२०६२–०६३ को आन्दोलनताका स्विस सहयोग नियोगको नेपाल प्रमुख रहेर काम गरेका उनले त्यो बेलाको शान्ति सम्झौतादेखि अहिलेसम्मका सबै चरणलाई नियाल्न पाएको स्मरण गरे । ‘हो, मेरो पहिलो कार्यकाल चार वर्ष र अहिले १४ महिना रहे तर पनि लामो अनुभवभन्दा कम भएन ।’
उनले स्विट्जरल्यान्डको इतिहासमा विभिन्न कालखण्डमा समस्या आए पनि तिनलाई सामना गर्दै यो स्थानमा मुलुक पुगेको उल्लेख गर्दै नेपालमा ठूलो समस्या नरहेको र विकासको प्रमुख आधारलाई बढावा दिनुपर्ने सुझाव पनि उनले दिए । ‘सबैले अपनत्व लिनसके मुलुकको विकासमा ढिलाइ हुँदैन,’ उनले भने, ‘राज्य स्वयंले विकास गर्ने होइन । जनतालाई सहभागी गराएर नै मुलुकको विकास हुने हो । नेपाल पनि त्यही चरणमा छ ।’
आधुनिक कृषि, जलस्रोत, साना उद्योग र पर्यटन नेपालको विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै उनले युवालाई विदेश पठाउनेभन्दा स्वदेशमा राखेर व्यस्त बनाउनेतर्फ बढी केन्द्रित हुनुपर्ने बताए । राजदूत फ्राइडेनले अब वैदेशिक सहायता होइन, सहकार्य लगानीमा अघि बढ्नुपर्ने पनि बताए । ‘हामीले विकास गरेको पनि कृषि, साना उद्योग र निजी सहकार्यको लगानीबाटै हो । प्रगतिको लक्ष्यमा अघि बढेका मुलुकसँग सहकार्य गरेर नै आफूलाई माथि उठाएका हौं,’ उनले भने।आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।




