पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाइँदै

pashupatinath

काठमाडौं, १५ माघ । गाँजा, भाङ, धतुरो, चरेसलगायत लागूपदार्थको बिगबिगी भएपछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रलाई नसामुक्त बनाउने घोषणा गरेको छ। पवित्र तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा महाशिवरात्री बाहेक पनि जोगीले लुकिछिपी युवालाई गाँजा, भाङजस्ता नसालु पदार्थ बिक्रीवितरण र सेवन गरेपछि विकृति अन्त्य गर्न कोषले यस्तो निर्णय गरेको हो।

कोषले गत मंसिर २० देखि नै महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा बिहान, दिउँसो र राति छापा मार्दै आएको छ। कोषका निर्देशक भोलाप्रसाद सिटौलाले भने, ‘सशस्त्र प्रहरी, जनपद प्रहरी, कर्मचारी, पदाधिकारी सबै मिलेर पशुपतिनाथ क्षेत्रका जोगीका अखडा, पाटीपौवा, गुफा, ओढारलगायत ठाउँमा २४ घन्टाजस्तै अनुगमन गर्दा अत्यधिक विकृति पाएपछि आजैदेखि यस्ता चिजमा प्रतिबन्ध लगाएका हौं।’ कोषले महाशिवरात्रीको मुखमा पशुपतिनाथ क्षेत्रमा गाँजा, भाङलगायत नसालु पदार्थ बिक्रीवितरण र सेवन नगर्न सबैसँग अनुरोध पनि गरेको छ।

वृत्तका डीएसपी अनुपम श्रेष्ठले हालसम्म २ सय ७९ जना पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार ३४ जनालाई लागूऔषधअन्तर्गत र १ सय ५० जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ। अनुगमन र पक्राउ जारी रहेको जानकारी दिँदै उनले भने, ‘डेढ सय जति बालबालिका, मानसिक रोगी, दीर्घ रोगी, अपांगता भएकाजस्ता छन्, केहीलाई सम्बन्धित ठाउँमा जिम्मा लगायौं भने केहीलाई कसरी व्यवस्थापन गर्ने खोजीमा छौं।’

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले सबै प्रतिबन्धित नसालु पदार्थ पशुपतिनाथ क्षेत्रमा सेवन र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए। कोषले साधुसन्तसँग पनि पशुपतिनाथ क्षेत्रभित्र गाँजा, भाङलगायत नसालु पदार्थ सेवन नगर्न पनि आग्रह गरेको उनले बताए। पशुपतिनाथ क्षेत्रलाई धार्मिक क्षेत्रकै रूपमा विकास गर्न पनि नसालु पदार्थ सेवनमा प्रतिबन्ध लगाउनु परेको उनको स्पष्टोक्ति छ। पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाँजा, भाङलगायत नसालु पदार्थ सेवन हुने गरेको छ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले डेढमहिने खोज र अनुसन्धानका क्रममा जोगीहरूका जटामा समेत गाँजा, चरेस, भाङलगायत लागूपदार्थ फेला परेको जानकारी दिए। यस क्रममा प्रहरी र पदाधिकारीको टोलीले केहीलाई सचेत गराएको थियो भने केहीलाई चेतावनीसमेत दिएको थियो। उनले भने, ‘जसरी सरस्वती पूजाका दिन अक्षराराम्भ गर्नुपर्छ भन्ने छ त्यसैगरी शिवरात्रीमा गाँजा, चरेस र भाङ तान्नुपर्छ भन्ने युवाको गलत बुझाइविरुद्ध अब कोष लागेको छ। जोगीले पनि खानैपर्छ भन्ने कहीँ कतै शास्त्रमा रहेनछ, त्यसैले अब पशुपतिनाथ क्षेत्र नसामुक्त हुनेछ।’आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);