काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछःदेउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछःदेउवा

काठमाडौं,१९ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलादेशी सिंह फाउण्डेशनले आईतवार काठमाडौंमा आयोेजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गर्नु भयो ।

उहाँले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढि सशक्तिकरण गर्दै नेपाली काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने उहाँको भनाई थियो । सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेल्नुभएको भुमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभयो । उहाँले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पनि पार्टीको विधानमा नेपालको संविधान अनुसारनै समावेशी व्यवस्था गरेका छौं । यस मानेमा हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ । नेपालको संविधान अनुसार समावेशी छ । तर यस्तो काम गरेको, यसको लागि लडेको पार्टीमा आपसी एकताको कमीहोस, जे सुकैको कमीले होस् । यद्यपि हाम्रो पार्टी ठूलो बनेको छ । अहिलेको हिसावले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन । बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा । अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरुको धेरै ठूलो योगदान हुन्छ । महिलाहरुको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन । त्यसैले आजको भेलामा महिला सशक्तिकरणको कार्यक्रम छ । यसलाई अझ बढी सशक्तिकरण गर्दै हाम्रो पार्टीलाई सच्चा मानेमा महिलाहरुलाई अगाडि ल्याएर हामी नेपालको ठूलो पार्टी मात्र होइन, बहुमत प्राप्त गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सकियोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसका लागि हामी सबै लागेर कामहरु गरौं ।’

सभापति देउवाले नेपाली काँग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);