आक्रामक शुरुवातका बाबजुद आयरल्याण्डले लक्ष्य पूरा गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आक्रामक शुरुवातका बाबजुद आयरल्याण्डले लक्ष्य पूरा गर्न सकेन

काठमाडौं,१४ चैत्र । नेपालले आयरल्याण्ड ‘ए’ माथि दोस्रो ट्वान्टी–२० क्रिकेटमा रबाफिलो जित निकाल्दै दुई खेलको ट्वान्टी–२० श्रृंखला क्लिन स्विप गरेको छ । कुशल मल्लको अलराउण्ड प्रदर्शनमा नेपालले मंगलवार आयरल्याण्ड ‘ए’ माथि ७१ रनको रबाफिलो जित निकालेको हो । कुशलले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सहज जित निकाल्यो । कुशलले ३४ रनका साथै तीन विकेट पनि दिलाए । सोमवारको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९९ रनको चुनौती पछ्याएको आयरल्याण्डको युवा टोली १८.३ ओभरमा १२७ रनमै समेटियो ।

आक्रामक शुरुवातका बाबजुद आयरल्याण्डले लक्ष्य पूरा गर्न सकेन । १४ ओभर सकिँदा आयरल्याण्ड १००÷३ को स्थितिमा थियो । त्यसपछि खातामा थप २७ रन जोड्दा पाहुना टोलीको सात विकेट गुम्दा नाटकीय रूपमा पतन भयो । विकेटकिपर तथा ओपनर स्टेफन डोहेनीको २६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर रोस एडेरले १७ रन जोडे । पावर प्लेको पाँचौं र छैटौं ओभरमा दुई ओपनर आउट भएपनि पाहुना टोलीले आक्रामक ब्याटिङ जारी राख्यो ।

आयरल्याण्डले ४३ रन हुँदा पहिलोविकेट गुमायो । सोमपाल कामीले स्टेफनलाई आउट गर्दै पहिलो विकेट दिलाए । खातामा थप रन नजोड्दै रोस पनि आउट भए । उनलाई कुशल मल्लले गुल्सन झाबाट क्याच गराए । त्यसपछि केड कार्मिकेलले इनिङ सम्हाल्न खोजे । तर १२ औं ओभरमा केड १८ रन बनाएर आउट भए । उनलाई कुशल भुर्तेलले अनिल साहबाट क्याच गराए । त्यसपछि मोर्गन टोपिङ २१ रन, कप्तान निल रक १७ रन र ग्यारेथ डिलेनीले १५ रनको योगदान दिए । करण केसीले १४.१ ओभरमा कप्तान निललाई आउट गरे । त्यसपछि आयरल्यान्ड समालिन नै सकेन र लगातार विकेट गुमाउन पुग्यो । डिलेनी १९ औं ओभरमा दशौं विकेटका रूपमा आउट भए ।

नेपालको बलिङमा कुशल मल्ल र सोमपाल कामीले समान तीन विकेट लिए । १९ औं ओभरमा सोमपाल ह्याट्रिक गर्न चुकेका थिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिएपछि पाहुना टोली सस्तैमा रोकिन बाध्य भयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रनको विशाल योगफल बनायो । आक्रामक शुरुवात गरेको नेपालले अन्तिम ओभरसम्म जारी राख्दा विशाल लक्ष्य प्रश्तुत गरेको हो । गुल्सन झाले ३२ बलमा ४६ रन बनाए । उनले चार छक्का र एक चौका हिर्काए ।

गुल्सनले चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । रोहितले २४ बलमा पाँच चौकासहित ३३ रन बनाए । गुल्सज १४ औं ओभर र रोहित १६ औं ओभरमा आउट भएका हुन् । दुई विकेट आउट हुँदा नेपाल १५.६ ओभरमा १५७÷५ को अवस्थामा थियो । कुशल मल्लले आक्रामक सट खेल्दै नेपाललाई विशाल योगफलतर्पm अग्रसर गराएका हुन् । छैंटौं नम्बरमा आएका कुशलले आक्रमक ब्याटिङ गर्दै १३ बलमा ३४ रन जोडे । उनको इनिङमा एक चौका र चार छक्का रह्यो ।

सन्दीप जोराले १० बलमा २१ रन जोडेपछि नेपाल दुई सयको आँकडा नजिक पुगेको हो । सन्दीपको इनिङमा तीन चौका र एक छक्का रह्यो । त्यसअघि ओपनरद्वय कुशल भुर्तेलले २५ रन, आसिफ सेख ११ रन र अनिल साहले १२ रन जोड्दा नेपालले राम्रो शुरुवात पाएको हो । आयरल्याण्डको बलिङमा म्याथ्यु फोस्टरले तीन विकेट तथा बेन ह्वाइट, गाभिन होइ र फिओन हान्डले समान एक विकेट निकाले । अब पाहुना टोलीले नेपाल ‘ए’ सँग समान तीन ट्वान्टी–२० र एकदिवसीय क्रिकेट खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);