काठमाडौं,८ चैत्र । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट सन् १९८०–२०२० सम्म ४० वर्षको अवधिमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरेले सार्वजिनक गरेको प्रतिवेदनमा प्रकोपबाट ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख छ ।
प्रकोपहरूले देशको आर्थिक उत्थानशिलता विकास गर्ने क्षमतामा असर पारेको अनुसन्धानले देखाएको छ । विपद् उद्धार तथा प्रतिकार्यका लागि नेपालले सन् २०१२ देखि २०२० सम्म ८ बर्षमा ५० अर्ब खर्च गरिसकेको छ । खर्चको यो तथ्याङ्कले दीर्घकालीन रूपमा आर्थिक दृष्टिकोणले दिगो नहुने र जोखिम हस्तान्तरण समाधान संयन्त्रको माग रहेको देखाएको छ । यसलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी) ले बीमा र वित्तीय जोखिम न्युनिकरण सम्बन्धी पहल शुरु गरेको छ ।
नेपाल सम्बन्धी कन्ट्री डाइग्नोस्टिक प्रतिवेदनमा जलवायु परिवर्तनबाट सवैभन्दा बढी प्रभावित १० देशमध्ये नेपाल एक रहेको र नेपाल बाढी, पहिरो, भूकम्प र खडेरीको उच्च जोखिममा रहेको उल्लेख छ । लघु बीमा प्रावधानहरू सहितको बीमा ऐन, २०७९ जस्ता कानूनमा भएका संसोधन तथा अद्यावधिक प्रावधानहरूले बीमा उद्योगको पहुँचयोग्य र किफायती बीमा उत्पादनहरू उपलब्ध गराउने क्षमतालाई बढावा दिन सरकार प्रतिवद्ध रहेको प्रतिवेदनमा भनिएको छ ।
कार्यक्रममा युएनडीपीका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबेले कुनैपनि देश र समुदायको लागि जोखिम व्यवस्थापनको विस्तृत कार्यलाई बलियो बनाउन योगदान दिनसक्ने समाधानहरूमध्ये एउटा बीमा र वित्तीय जोखिम न्युनिकरण रहेको उल्लेख गनुृभयो ।




