विराटनगर, १३ माघ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक जिल्ला समन्वय समिति मोरङको सभाहलमा बस्ने भएपछि मर्मत कार्यलाई तीब्र बनाइएको छ ।
जिल्ला समन्वय समितिको भवनमा उप्किएको प्लास्टर धमाधम टालिदैं छ भने भित्ता, भूई लगायत रंग रोगनको काम भईरहेको छ । कार्पेटिङ सहितको साझ सज्जाको काम पनि तिब्र गतिमा गरिएको छ ।
सभाहललाई संसदको बैठक कक्षको निर्धारित ढाँचा अनुसार नै तयार गरिदै छ । हलको अग्रभागको मञ्चलाई सभामुख बस्ने स्थानको रुपमा तयार गरिएको छ । मञ्चको अगाडिपट्टि स्टिलको बार लगाउने तयारी गरिएको छ ।
मञ्चमा सभामुख, उपसभामुख र संसद सचिव तीन जना बस्ने गरी कुर्सी राख्ने व्यावस्था गरि स्थान तय गरिएको छ । त्यसैगरी मन्त्रीहरु, सत्तापक्ष प्रतिपक्षी दल लगायतको स्थान सहितको संसदीय ढाँचामा भवनलाई नया स्वरुप दिईदै छ ।
सभाहलका पुराना कुर्सी हटाईएको छ । जुनसुकै बेलापनि प्रदेशसभाको बैठक बोलाउन सक्ने भन्दै तयारीका लागि निर्देशन आएकाले रंगरोगन, वायरिङ लगायत काम गरि सभाहललाई दुरुस्त राख्ने काम भईरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । प्रदेश नम्बर १ मा ९३ जना प्रदेश सांसद छन् ।