कैलाली,२९ फागुन । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । गुड्दै गरेको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएर क्षति पुगेपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको हो ।
प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । सोमबार अपराह्न पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ख ५२९७ नम्बरको
ट्रकमा अचानक लागेको आगो सल्केर पुलमा पनि पुगेको हो । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको बताइएको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न इलाका प्रहरी कार्यालय चिसापानीले भनेको छ । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न प्रहरीले सुझाएको छ ।
लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट पुगेका दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो नियन्ण गरिएको थियो । जलेको ट्रकसमेत पुलबाट हटाइएको छ




