निर्माण सामग्रीमा मूल्यवृद्धिको चौतर्फी विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्माण सामग्रीमा मूल्यवृद्धिको चौतर्फी विरोध

काठमाडौं, १३ माघ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ। उद्योगीले ‘बाध्यतात्मक’ भन्दै छड र सिमेन्टमा मूल्यवृद्धि गरेपछि निर्माण व्यवसायीदेखि उपभोक्ता प्रतिवादमा उत्रिएका छन्।

उद्योगीले सरकारी निकायको कमजोरीको फाइदा उठाउँदै कृत्रिम अभाव देखाएर मूल्यवृद्धि गरेको आरोप छ। रूपन्देहीका निर्माण व्यवसायी, हार्डवेयर व्यवसायी, उपभोक्ता तथा राजनीतिक दलका भातृ संगठन मूल्यवृद्धिको विरोधमा उत्रिएका छन्।

एमालेको भातृ संगठन युवा संघ र माओवादी केन्द्रको भातृसंगठन वाईसीएलले मूल्य घटाउन माग गर्दै लुम्बिनी करिडोरका उद्योगमा नै तालाबन्दी गरे। ‘कच्चा पदार्थको मूल्यवृद्धिको बाहनामा उपभोक्ताको ढाड सेक्ने काम भएको छ’, युवा संघ रूपन्देहीका अध्यक्ष नकुल शाहीले भने, ‘मूल्यवृद्धि तत्काल घटाउन सरकारलाई आग्रह गर्छाैं।’

दुई युवा संगठनले मंगलबार दिउसो लुम्बिनी करिडोरका ११ सिमेन्ट उद्योग र दुई छड उद्योगमा तालाबन्दी गरेका थिए। तालाबन्दी भएको केही समयमै प्रशासनले ताला तोडिसकेको छ। मूल्यवृद्धिको निर्माण व्यवसायीले पनि विरोध गरेका छन्। उनीहरूले सरकारी आयोजना निर्माण नै रोक्ने चेतावनी दिएका छन्।

‘मूल्यवृद्धिले लागत बढेको छ, यही अवस्थामा काम गर्न सक्ने अवस्था छैन’, निर्माण व्यवसायी टोपबहादुर रायमाझीले भने। रूपन्देहीमा राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलसहित आधा दर्जन ठूला आयोजना सञ्चालनमा छन्। मूल्यवृद्धिले निर्माण लागत बढ्ने हुँदा काम गर्न कठिनाइ हुने व्यवसायीको भनाइ छ।

पछिल्लो १५ दिनमा सिमेन्टमा प्रतिबोरा ६० देखि सय रुपैयाँ र छडमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढेको छ। निर्माण व्यवसायीदेखि निर्माण सामग्री बेच्ने व्यवसायीले यो वृद्धि कृत्रिम भएको दाबी गरेका छन्। ‘न डलरको मूल्य बढ्यो, न बन्द भएको छ। स्वेदशकै क्लिंकरले ९० प्रतिशत पुगेको छ भने कसरी लागत बढ्न सक्छ ? ’, रूपन्देही हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले भने। नेपाली सिमेन्ट उद्योगले मनपरी ढंगले मूल्यवृद्धि गरेको उनको आरोप छ।

सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा एक हजार ५० र पीपीसी सिमेन्ट नौ सय बनाउने तयारी गरिरहेको बताइएको छ। यो सिमेन्टको मूल्य भारतबाट भन्सार तिरेर ल्याइने सिमेन्टभन्दा महँगो पर्ने व्यवसायीहरू बताउँछन्। प्रतिबोरा तीन सय भन्सार तिरेर ल्याउँदा पनि भारतीय सिमेन्टको मूल्य सात सय ५० पर्ने मरासिनीले बताए। व्यवसायीले नेपाली सिमेन्ट प्रतिबोरा पाँच सयमा बिक्री गर्दासमेत नाफा आउने भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग मागसमेत गरेका छन्।

उद्योगी भन्छन्–‘बाध्य छौं’

लुम्बिनी करिडोरमा रहेका उद्योगीले मूल्यवृद्धि बाध्यात्मक रहेको दाबी गरेका छन्। जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक बिदुर ढुंगानाले भारतमै कच्चा पदार्थको मूल्यवृद्धि भएकाले मूल्य बढाउन उद्योग बाध्य भएको बताए।

‘भारतमै कच्चा पदार्थको मूल्य बढ्यो। हामीले महँगोमा किनेर सस्तोमा बेच्न सकिँदैन’, उनले भने, ‘मूल्यवृद्धि हाम्रो नियन्त्रणबाहिरको कुरा हो।’ मूल्यवृद्धिका पछाडि १० वटा कारण रहेको उनले बताए।

सिमेन्ट उद्योगीले क्लिंकरको प्रतिटन मूल्यमा ६ हजार, फ्लाइसमा १६ सय, जिप्सनको १२ सय मूल्यवृद्धि भएको बताएका छन्। कच्चा पदार्थको मूल्य दोब्बरजस्तै बढेको उद्योगी राजेशकुमार अग्रवालले बताए। डिजेल तथा विद्युत्को मूल्यवृद्धिले समेत लागत बढेको उनको दाबी छ।

भारतबाट कच्चा पदार्थ ल्याउँदा लाग्ने ढुवानी दोब्बरले बढेको र कृष्णनगरको बलरामपुर नाका प्रयोग गर्दा झन लागत बढेको उद्योगीले बताए। स्वदेशमै पनि ढुवानीको लागत बढेकाले सिमेन्ट छडको मूल्य बढेको उद्योगीको स्पष्टोक्ति छ।

वीरगन्जबाट क्लिंकर आयातमा अवरोध, भैेरहवा नाकाभन्दा ५० किलोमिटर टाढाबाट ढुवानी, कृष्णनगरको बलरामपुरबाट कच्चापदार्थ बोक्नुपर्ने कारणले पनि लागत बढ्न गएको उद्योगीले दाबी गर्दै आएका छन्। रूपन्देहीमा रहेका सिमेन्ट उद्योगबाट दैनिक २५ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);