काठमाडौं,२० फागुन । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा भएको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । गत संस्करणको पनि उपाधि जितेको मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
उपाधि जित्दा मच्छिन्द्रले पेनाल्टी सुटआउटमा न्यूरोड टिम एनआरटीलाई ५–४ गोल अन्तरले स्तब्ध बनायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । मच्छिन्द्रका लागि सनीश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिष्टोफोर चिसोभा र देवेन्द्र तामाङले पेनाल्टीमा गोल गरेका थिए । यता एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले पेनाल्टीमा गोल गर्न सफल भए ।
तर एनआरटीका लागि अन्तिम पेनाल्टी प्रहार गरेका बिवेक गुरुङले पेनाल्टी मिस गरेपछि मच्छिन्द्रले उपाधि जितेको हो । योसँगै मच्छिन्द्रले ११ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उप विजेता बनेको एनआरटीले ५ लाखमा चित्त बुझाएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा २ विदेशी सहित १० टिमको सहभागीता रहेको थियो ।