१६ जेठ, काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न संसद्भित्र रहेका दलहरुसँग आग्रह गर्नुभएको छ ।
काँग्रेस सभापति देउवाले मंगलबार विहान संसद् भवनमा सर्वदलीय बैठक बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । तर देउवाले बोलाएको बैठकमा दोस्रो ठूलो दल नेकपा एमाले भने अनुस्थित भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा गर्न लगाएर सत्ताको नेतृत्व गर्ने तयारीमा रहेका देउवाले स्थानीय तहको दोस्रो चरण तथा प्रदेश र संघको निर्वाचन सम्पन्न गरी संक्रमणकाल टुंग्याउनका लागि प्रधानमन्त्री पदका लागि आफू सबैभन्दा उपयुक्त भएको बताउनुभयो ।
उहाँले बैठकमा अनुपस्थित भएपनि एमालेसँग समेत सरकार गठनका लागि सहयोग माग्ने बताउनुभयो । देउवाले मागेको सहयोगको जवाफमा अधिकांश दलहरुले सकेसम्म सहमतीय सरकार गठन गर्नुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सहमतीय सरकार गठन गर्दा संक्रमणकाल टुंग्याउन सजिलो हुने भन्दै एमालेसँग कुरा गर्न सुझाव दिएको नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले भने संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप लगायतका आफ्ना माग सम्बोधन नभएसम्म सरकार गठनमा कसैलाई पनि सहयोग नगर्ने बताएको छ । बैठकपछि राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरु उधारो आश्वासनको सट्टा नगदको पक्षमा रहेको बताउनुभयो । काँग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालले जेठ १० गते राजीनामा दिएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय बुधबार सकिंदै छ ।




