काठमाडौं, १२ माघ । नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि दिउसोको समयमा सवारी आवागमन रोकिने भएको छ । सडक विस्तारको काम सुस्त भएपछि भोलिदेखि दिउसोको समयमा सवारी आवागमन रोकिने भएको हो । खण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । सडक विस्तारको कामलाई तीव्रता दिन भन्दै उक्त सडक खण्डमा गत पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकिंदै आएको छ ।
रातको समयमा मात्र सवारी रोक्दा विस्तारको काममा खासै प्रगति नभएकाले दिउसोको समयमा यातायात रोक्न लागेको आयोजनाका इञ्जिनियर शिव खनालले बताए । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा ट्राफिक जामका कारण दिउसो पनि काम प्रभावित भएकाले शनिबारबाट दिउसोको समयमा यातायात बन्द गर्न लागेको बताए। उक्त सडक खण्डमा घुमाउनेमा २ सय मिटर तथा १६ किलो र चेपाङ डाँडामा ३ सय मिटर भित्तो काट्ने काम बाँकी छ । ३८ किलोमिटर लामो सडक खण्डमा बल्ल १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको छ ।