एजेन्सी,२४ माघ । भारतको मध्यप्रदेशमा रहेको एक पटाका कारखाना भएको विस्फोटमा नौ जनाको ज्यान जानुकासाथै १६७ जना घाइते भएका छन् ।
मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म नौ जनाको मृत्यु र करिब १६७ जना घाइते भएको स्थानीय प्रहरीले जानकारी दिएको हो । भारतीय संचार माध्यमहरुमा प्रसारित टेलिभिजन फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको , घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स र सेनाको हेलिकप्टर समेत देखिन्छ ।
कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । राज्यका वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मृतकको सङ्ख्या बढ्नसक्ने आशंका व्यक्त गर्नु भएको छ । मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न निर्देशन दिनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा प्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने घोषणा गर्नु भएको छ ।