काठमाडौं,२२ माघ । विश्वविद्यालयमा पनि खेलकुदको विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको शुरुवात हुने भएको छ ।
विश्वविद्यालयमा पुगेपछि खेल प्रतिभा हराउने भएकाले उनीहरूको संरक्षण गर्ने र विश्वविद्यालयमा खेलकुदमय बनाउन नेपाली खेलकुदको कार्यकारी निकायले विश्वविद्यालय खेलकुद प्रतियोगिताको शुरुवात गर्न थालेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आईतवार त्रिपुरेवरस्थित राखेप भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता सोमवारदेखि शुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिष्पर्धा हुनेछ ।
भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने राखेपले जनाएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोईरालाले अहिले शुरुवात मात्र गरिएको उल्लेख गर्दै अबको दिनमा निश्चित कार्यतालिकासहित विश्वविद्यालय खेलकुद प्रतियोगिता गर्ने बताए । उपाध्यक्ष कोइरालाले बजेटको आकार र खेल संख्यामा पनि वृद्धि गर्ने विश्वास व्यक्त गरे ।
आईतवार नै पत्रकार सम्मेलनका अवसरमा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आईतवार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोईरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गर्नुभएको हो । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइनेछ ।
प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका दुई सय ८० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । एथलेटिक्समा १२ स्वर्ण, भलिबलमा एक स्वर्ण तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान पाँच गरी जम्मा २३ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा राखेप उपाध्यक्ष कोईरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसंगको छलफलपछि ४ खेल समावेश गरिएको उल्लेख गर्दै विश्वविद्यालयहरुले पनि खेलकुदलाई महत्व दिउन् भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको धारणा राख्नुभयो ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिव ४० लाख रुपैयाँ खर्च हुनेछ । आईतवार पत्रकार सम्मेलनमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला र प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो । सो अवसरमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको बताउनु भयो । यो प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने प्रावधान पनि राखिएको छ ।