काठमाडौं,१९ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।
मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेबाट मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ । फेरी पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो । यो समयमा काम नसकिएपछि माघ २० सम्मलाई समय थपिएको थियो । तर यतिका दिनसम्म पनि काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको बताइएको छ । अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको भनिएको छ । सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण भइसकेका छन् । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएपछि २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।