काठमाडौं,१७ माघ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक सीपीआईका अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ ।
सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा थियो । ट्रान्सरेन्सी इन्टरनेशनल नेपालले यो प्रतिवेदन अनुसार नेपालको सुशासनको अवस्था नाजुक रहेको जनाएको छ । सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको, कमजोर न्याय प्रणाली र निरंकुश हुन नेताहरुले न्यायलाई अवमूल्यन गरकोलगायत कारण दण्डहिनता बढेको प्रतिवेदनले स्पष्ट गरेको छ । । १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत छन् । यस सूचकांक १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट भन्ने जनाउँदछ । ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको रुपमा चिनिन्छ ।
सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान २६ औं, तथा भारत र माल्दिभ्स ९३ औं स्थानमा छन् । नेपालभन्दा तल श्रीलंका ११५ औं, पाकिस्तान १३३ औं, बंगलादेश १४९ औं र अफगानिस्तान १६२ औं स्थानमा छन् । छिमेकी मुलुक चीन ७६ औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारहरूको ध्यानाकर्षण गरेको छ ।