राष्ट्रियसभाका लागि मनोनयन दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राष्ट्रियसभाका लागि मनोनयन दर्ता आज

rastriya sava

काठमाडौं,१० माघ । राष्ट्रियसभा निर्वाचनका लागि आज बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदार मनोनयन दर्ता हुने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्नेछन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

आयोगले केही दिनअघि मात्रै ७ वटै प्रदेशका उच्च अदालत रहेको ठाउँमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनले मतदाताको प्रदेशगत नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको बताए । राष्ट्रियसभामा उम्मेदवारी दिने उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्नुपर्नेछ ।

मनोनयनपत्र दर्ताका लागि उम्मेदवार आफै वा वारेस दिएर प्रस्तावक समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनुपर्नेछ । मनोनयन दर्ताका लागि उम्मेदवारले नेपाली नागरिकताको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्विकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद, दलीय उम्मेद्धार भए आधिकारीक व्यक्तिको हस्ताक्षर सहितको पत्र पेश गर्नुपर्नेछ ।

यस्तै मनोनयनपत्रमा प्रस्तावक समर्थकको सहिछाप गर्नुपर्नेछ । उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ । त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्नेछ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था छ ।आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधवार दिउँसो ४ बजेसम्म मनोनयन दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको विरोधमा बिहीबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानबिन गरेपछि माघ १४ गते निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । सोही दिन उम्मेदवारी फिर्ता लिनका लागि समेत समय तोकिएको छ । माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि सोही दिन उम्मदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता ढकालले बताए । त्यसपछि माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । मतदान सम्पन्न भएर मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि सोही दिन अपरान्ह ४ बजेपछि मतगणना कार्य सुरु गरिने कार्यतालिकामा उल्लेख छ । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि सात स्थानमा १४ वटा मतदान केन्द्र रहेका छन् ।राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख गरि १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी २ हजार ५६ जना मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।
शुक्रबारदेखि निर्वाचन आचारसंहिता
राष्ट्रियसभा निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता जारी हुने भएको छ । निर्वाचन आयोगले निर्वाचनमा सरकार, राजनीतिक दल एवं व्यक्तिबाट हुनसक्ने स्रोत साधनको दुरुपयोग रोक्न र अनुशासन कायम गर्न निर्वाचन आचारसंहिता जारी गरेको हो ।प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लाग्ने भएकाले आचारसंहिताको पालना गरी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग गर्न सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र उम्मेदवारलाई आग्रह गरे ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई मतदान तथा मतगणनाका विषयमा प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले मतदातालाई विवेक प्रयोग गर्नसमेत आग्रह गरे । उनले इतिहासमा एकै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भैसकेको बताउँदै राष्ट्रियसभा निर्वाचनलाई समेत स्वच्छ, निष्पक्ष र धाँदलीरहित रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे । ‘हामीले ठूला नदी पार गरिसक्यौं, अब खोल्साखोल्सी छन्, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ,’ प्रमुख आयुक्त यादवले भने ‘निर्वाचन आचारसंहिता जति प्रभावकारी ढंगले पालना भयो त्यति निर्वाचन स्वच्छ, निष्पक्ष र धाँदलीरहित हुन्छ यसैले निर्वाचन आचारसंहिता पालना गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछु ।’

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले कर्मचारी सरुवा बढुवा, नियुक्ति एवं निर्वाचनलाई प्रभावित पार्ने निर्णय गर्न पाउने छैन । आचारसंहिता लागू भएपछि सरुवा बढुवा र निर्वाचन प्रभावित गर्न नपाउने भए पनि सरकारले हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा भने निर्वाचनलाई प्रभावित पार्ने गरी ठूला आयोजना सम्बन्धी निर्णय र महत्वपूर्ण निकायमा सरुवा बढुवा गरेको थियो ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);