काठमाडौं,२३ पुस । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवार टुंगो लगाएको हो ।
माओवादी केन्द्रले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् । यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द माओवादीका तर्फबाट राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुनु हुने छ ।
जनता समाजवादी पार्टी जसपाले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा एक सिट पाएपछि आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित पूजा चौधरी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुनुहुन्छ ।