एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा भागबण्डा मिलाउन सकस | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा भागबण्डा मिलाउन सकस

काठमाडौं, ९ माघ । सातवटै प्रदेशका प्रदेश सांसदहरुको सपथग्रहणसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ । सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेश सरकार गठनको तयारीमा रहेका वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा भागबण्डा मिलाउन भने सकस परेको छ ।

प्रदेश सरकार गठन गर्दा वाम गठबन्धनको बुहुमत रहेको ६ वटा प्रदेशमध्ये दुई वटा प्रदेशमा आफूले मुख्य मन्त्री पाउनुपर्ने अडान नेकपा माओवादी केन्द्रले राखेको छ । प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले एक्लैको बहुमत छ भने प्रदेशनम्बर ६ मा एमालेबिना सरकार बन्नसक्ने अवस्था छैन । प्रदेश नम्बर २ बहेक सबै प्रदेशमा बाम गठबन्धनको बहुमत छ ।

भागबण्डा अनुसार प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने पक्कापक्की भइसकेको छ । माओवादी केन्द्रले ६ नम्बर प्रदेशमा पनि आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरे पनि एमाले नेताहरु छोड्न तयार छैनन् । प्रदेश नम्बर ६ मा दुबै दलले मुख्यमन्त्री दाबी गरेपछि भागवण्डा मिलाउन सकस परेको छ । आफ्नो ५० प्रतिशत सीट रहेको प्रदेशमा माओवादीलाई मुख्यमन्त्री छाड्न नसकिने प्रदेश ६ को एमाले संसदीय दलको बैठकले निर्णय नै गरिसकेको छ । एमालेबाट प्रदेश नम्बर ६ मा नेता यामलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीका दाबेदार रहेका छन् ।

नेकपा एमालेको प्रदेश नम्बर ६ को संसदीय दलले मुख्यमन्त्री माओवादीलाई नछाड्ने निर्णय केन्द्रमा पनि जानकारी गराइसकेको छ । र, भागबण्डा मिलाउनुपरे अरू नै प्रदेशमा गर्न सुझाव दिएका छन् । ४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ जना सदस्य छन । उता, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीले पनि ६ नम्बर प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेका छन् । अन्य प्रदेशमा भन्दा ६ नम्बर प्रदेशमा आफूहरूको पकड रहेकाले मुख्यमन्त्री आफूले नै पाउनुपर्ने माओवादी केन्द्रको अडान छ ।

केन्द्रमा दुई पार्टीबीच एकीकरण प्रक्रियाको विषयमा बहस चलिरहँदा प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने विषमा भने दुबै पार्टीका नेताहरु आ–आफ्नो अडानमा छन् ।