एजेन्सी,१८ पुस । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा आगलागी भएको छ । एयरलाइन्सले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३ सय ६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ ।
जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा परेको कोस्ट गार्डको विमानमा सवार पाँच जनाको भने मृत्यु भएको छ ।
कोस्ट गार्डको विमान सोमबार जापानमा गएको शक्तिशाली भूकम्पपछि आपूर्तिहरू पु¥याउन पश्चिमी जापानतर्फ गइरहेको थियो । भिडियो फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखिन्छ । जापान एयरलाइन्सको सो विमान होक्काइडोको उत्तरी प्रान्तको न्यू चितोसे एयरपोर्टबाट हानेदा प्रस्थान गरेको थियो ।




