केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन कर्ता सबै सांसदसँग एकैपटक छलफल गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन कर्ता सबै सांसदसँग एकैपटक छलफल गरिने

काठमाडौं, ८ पुस । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आईतवार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोहीअनुरुप संशोधनकर्ता केही सांसदहरुलाई बोलाइएको पनि थियो । तर बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरुले सबै संशोधनकर्ता सांसदहरुको सामुहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो । समिति सभापति विमला सुवेदीले समिति सदस्यहरुको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको जानकारी गराउनु भयो । उहाँले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रश्ताव राख्ने सबै सांसदहरुलाई बोलाइने बताउनु भयो । सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरुमध्ये ५६ जनालाई खबर गरिएको भएपनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएअनुरुप बैठक राखिएको पनि उल्लेख गर्नुभयो । आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उहाँको भनाई छ ।

बैठकमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरुलाई एकैपटक बोलाएर संशोधन प्रश्तावमाथि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले आफुहरु सबै संशोधनकर्ताहरुको कुरा सुन्न चाहेको बताउनु भयो । उहाँले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधि सभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताउनु भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्य प्रतिको डकैती भएको बताउनु भयो । केही संशोधनकर्ताहरुलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटी भएको भन्दै उहाँले सबैलाई एकै पटक बोलाएर प्रक्रियागत रुपमा बैठक राख्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरुले समेत संशोधन हालेका भन्दै सत्तापक्षिय सांसदहरु कुन कित्तामा उभिन्छन् आफूहरुले बैठकमै हेर्न चाहेको बताउनु भयो । उहाँले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा(एमाले)की सांसद प्रतिक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरुलाई सामुहिक रुपमा बोलाउनुपर्ने धारणा राख्नुभएको थियो । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरुको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरुको धारणा जायज रहेको बताउनु भयो । उहाँले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरुलाई संयुक्त रुपमा बोलाएर गर्नुपर्ने बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरुलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राख्नुभयो । संशोधनकर्ताहरु एकै पटक बसेर छलफल गर्नुपर्ने उहाँको पनि धारणा रह्यो । बोल्ने सबै सांसदहरुले सबै संशोधनकर्ताहरु एकै पटक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);