काठमाडौं, ७ माघ । भूकम्पमा भत्किएको ऐतिहासिक रानीपोखरीलाई मल्लकालीन शैलीमै पुनर्निर्माण गर्न विज्ञहरुले सुझाव दिएका छन् । रानीपोखरीको निर्माण विधि विवादित बनेपछि पुनर्निर्माणका लागि गठित विज्ञ समूहले पूरानै शैलीमा निर्माण गर्न सुझाव दिएको हो ।
रानीपोखरीको पुनर्निर्माणमा देखिएको विवाद सुल्झाउन गठित विज्ञ समूहले आईतबार काठमाडौं महानगरपालिकालाई बुझाएको सुझाव प्रतिवेदनमा रानी पोखरीको भित्री, बाहिरी पर्खालसमेत पूरानै शैली र प्रविधिमा पुनर्निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । विज्ञ समितिका संयोजक एवम् पूरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले आफूहरुले तयार पारेको प्रतिवेदन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई बुझाउँदै रानी पोखरी पूरानै शैली र प्रविधिमा पुनर्निर्माण गर्न सुझाव दिनुभयो । सुझाव प्रतिवेदनमा रानीपोखरीलाई व्यवसायिक थलो बनाउन नहुनेतर्फ पनि सचेत गराइएको छ ।
रानी पोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । विरोधका कारण पुनर्निर्माणको काम रोकिएपछि विवाद सुल्झाउन विज्ञ समूह गठन गरिएको थियो । समूहको प्रतिवेदनमा जथाभावी प्रयोग गरिएका कंक्रिट तत्काल हटाउन पनि भनिएको छ । पोखरी र यसको बीचमा रहेको गोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न विज्ञको सुझाव छ । प्रतिवेदन बुझदै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक छलफल गरी रानी पोखरी पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
११ सदस्यीय विज्ञ समूहले पहिलेको निर्णयअनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आइतबार प्रतिवेदन बुझाएको हो ।