प्रदेशसभा सदस्य शपथ आज | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रदेशसभा सदस्य शपथ आज

प्रदेशसभामा निर्वाचित सदस्यको शपथ कार्यक्रम तयारी पूरा भएको छ । सातवटै प्रदेशका सदस्यलाई आइतबार पद तथा गोपनीयतको शपथ गराउने कार्यक्रम छ।

pradesh sava

काठमाडौं, ७ माघ । प्रदेशसभामा निर्वाचित सदस्यको शपथ कार्यक्रम तयारी पूरा भएको छ । सातवटै प्रदेशका सदस्यलाई आइतबार पद तथा गोपनीयतको शपथ गराउने कार्यक्रम छ।

प्रदेश नम्बर १ बाट प्रदेशसभामा निर्वाचित सदस्यहरूलाई विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेश प्रमुख डा. गोविन्द सुुब्बाले शपथ गराउनेछन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार आइतबार बिहान १० बजे प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम हुनेछ । सभागृहबाहिर सर्वसाधारणका लागि ठूलो स्क्रिनको टेलिभिजनबाट सभा हलभित्रका गतिविधि निरन्तर प्रसारण गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैगरी प्रदेशसभा २ का सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष सक्रियतामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले शपथ कार्यक्रमको प्रबन्ध मिलाएको हो।जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ । मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय पनि सोही स्थानमा राख्ने तयारी छ । प्रदेशसभा बैठक कक्ष तयार भइनसकेकाले प्रदेश सदस्यहरुलाई शपथ गराउन जनकपुर उद्योग वाणिज्य संघको सभा हल प्रयोग गर्न लागिएको भवन डिभिजन प्रमुख गंगाप्रसाद यादवले बताए।

प्रदेश–४ का प्रमुख बाबुराम कुँवर शनिबार प्रदेश सम्हाल्न मुकाम पोखरा पुगेका छन् । ‘प्रदेशसभा सदस्यलाई शपथ गराउनु मेरो पहिलो काम हो,’ कुँवरले भने, ‘प्रदेशसभा सदस्यको शपथपछि थप प्रक्रिया अगाडि बढ्ने हो ।’ पोखरास्थित क्षेत्रीय प्रशासन कार्यालय सभा हलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

५ नम्बर प्रदेश सभामा निर्वाचित सदस्यलाई बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइने भएको छ । प्रदेश प्रमुख उमाकान्त झा शनिबार साँझ बुटवल आएका छन् । शपथ कार्यक्रमका लागि सबै तयारी पूरा भएको जानकारी रुपन्देहीका सिडिओ हरिप्रसाद मैनालीले दिए । प्रदेश प्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन प्रयोग गरिनेछ । त्यसैगरी प्रदेश प्रमुखको निवास सीप विकास तालिम केन्द्रमा रहने व्यवस्था मिलाइएको छ।

प्रदेशसभा ६ का ४० सांसदमध्ये २७ जना शनिबारसम्म काठमाडौंमै छन् । शनिबार दिनभर हवाई उडान नहुँदा उनीहरु सुर्खेत जान पाएनन् । आइतबार बिहान ११ बजे प्रदेश ६ का सांसदको शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ । काठमाडौंमा रहेका सांसदलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिनेछ।‘शनिबार काठमाडौं–नेपालगन्ज कुनै पनि उडान नहुँदा २७ जना प्रदेशसभा सदस्य काठमाडौंमै हुनुहुन्छ’, क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘आइतबार बिहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट उहाँहरुलाई ल्याइनेछ।’

त्यस्तै प्रदेश ७ का सांसदलाई कैलाली जिल्ला समन्वय समितिको हलमा शपथ गराइनेछ । शपथका लागि तयारी पूरा भएको जानकारी कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दिए।

प्रदेश ३ का एक सय १० सांसदलाई हेटौंडास्थित प्रदेश सचिवालयमा आइतबार बिहान ११ बजे शपथ गराइने भएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेका अनुसार क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनलाई प्रदेश सचिवालय बनाइएको छ।

प्रदेश सदस्यहरुको शपथअघि बिहान १० बजे प्रदेशसभा सदस्यमध्ये जेष्ठ डोरमणि पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराउने जानकारी पाण्डेले दिए । त्यसपछि अन्य प्रदेश सदस्यलाई शपथ गराइनेछ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुख कार्यालय बनाइएको छ ।
शनिबार हेटौंडा आएकी प्रदेश प्रमुख अनुराधा कोइरालाले संविधानअनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरिन् । उनले ३ नम्बर प्रदेश प्रमुख कार्यालयमा साँझ करिब ६ बजे पदभार ग्रहण गरेपछि उक्त कुरा बताएकी हुन् । पदभार ग्रहण गर्नुअघि उनलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो।

प्रदेश ३ का मुख्यमन्त्री र मन्पिरिषद्को कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा, सभामुख र उपसभामुखको कार्यालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा राखिएको छ । प्रदेशसभा बैठक कक्षका लागि वासुदेव सभा गृहमा पूर्वाधार निर्माण जारी छ।
जिल्ला संवाददाताको सहयोगमा, आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);