पुष्कर भट्ट, कञ्चनपुर,८ मंसिर । कंचनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित पार्कमा रहेको भीमदत्तको शालीक तोडफोड गरिएको छ । शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोधमा प्रदर्शनमा उत्रिएको समुहले भीमदत्त पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा तोडफोड गरेको हो । अहिले भीमदत्त पार्क नामाकराण् गरिएको उक्त पार्क राजा महेन्द्रले निमार्ण गरेको भन्दै उनीहरुले शालिकमा क्षति पुगाएका हुन ।
भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न राप्रपाका नेता कार्यकर्ता पक्राउका लागि प्रहरी टोली परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालययले शालिक तोडफोड भएपछि तीन जना प्रहरी निरीक्षकको नेतृत्वमा महेन्द्रनगर बजार र राप्रपा पार्टी कार्यालयमा टोली परिचालन गरेको छ ।
प्रहरीले राप्रपाको राष्ट्रिय युवक संगठनका नरेश कार्कीलाई पक्राउ गरेको छ । पार्क मोडमा कोण सभा समापन भएपछि कार्कीलाई पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । पार्कमा शालिक तोडफोड भएपछि प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
पार्कको गेटमा लेखिएको भीमदत्त पार्क मेटाएर महेन्द्र पार्क समेत लेखेका छन । ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ले आज आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, नारायणहिटी खाली गर जस्ता नारा लगाउँदै अगाडि बढेका थिए । गणतन्त्र विरोधी नारा लगाउँदै मदनचोक हुँदै महेन्द्रनगर बजारभरी नाराबाजी र प्रदर्शन गरेका थिए ।