भूकम्पबाट झन्डै १ लाख ८० हजार घरपरिवार प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भूकम्पबाट झन्डै १ लाख ८० हजार घरपरिवार प्रभावित

जाजरकोट, २३ कात्तिक। गत शुक्रबार मध्य रातमा गएको भूकम्पबाट जाजरकोटका सातवटै पालिकाका ३४ हजार पाँच सय १ घरघुरीका १ लाख ७९ हजार ८ सय ९३ घरपरिवार प्रभावित भएका छन् । त्यसै गरी ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ परिवार विस्थापित भएका छन् ।

भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्ण क्षति भएका छन् भने २४ हजार ७ सय ७ घर आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी रूकुुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जनाएको छ । क्षतिको विवरण बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच भूकम्पबाट प्रभावित कतिपय बस्तीमा सडक नपुगेकाले राहत सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरिएको छ भने सडक सञ्जालमा जोडिएका वस्तीमा राहत सामग्री गाडीबाट ढुवानी गरिएको छ । आकाश र जमिन दुवैबाट ढुवानी गरिएको भए पनि एकद्वार प्रणालीबाट वितरण गरिएको राहत सामग्री ग्रामीण वस्तीका पीडितले नपाएको गुनासो गरेको छन् ।

भूकम्पबाट प्रभावित भएका जाजरकोट र पश्चिम रूकुमका आठबिसकोट र सानीभेरी गाउँपालिकामा धनजनको ठूलो क्षति हुनुका साथै पुराना दरबार भग्नावशेष भएका छन् । त्यहाँका भूकम्प पीडितहरू बुधबार पनि राहत सामग्रीको पर्खाइमा बसेका थिए । भेरी नगरपालिका–१३ मा राहत सामग्री नपुग्दा नागरिकहरू खुल्ला आकाशमुनि बसेका छन् । राहत सामग्री पुगेका वस्तीमा पनि पर्याप्त मात्रामा पुग्न सकेका छन् ।

भेरी नगरपालिका– १३ का लालबहादुर रोकायले भूकम्प गएको एक हप्ता बित्दा समेत पीडितले शीत र जाडो छल्ने त्रिपालसमेत पाउन नसकेको गुनासो गर्नुभयो । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले नगरपालिकालाई दैवी प्रकोप राहत उद्धार समितिबाट आएको सामग्री वितरण प्राप्त भएको जानकारी दिँदै नपुगेका वस्तीमा पठाउने तयारी भइरहेको बताउनुभयो । भूकम्प प्रभावितलाई राहत दिनका लागि जिल्ला प्रशासन कार्यालय बिहानदेखि रातीसम्म खटिएको जिकिर गर्दै उहाँले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूले राहत वितरणको काममा सहयोग नगरेको दुखेसो पनि गर्नुभयो । उहाँले इन्टरनेट नभएकाले राहतको काममा थप असहज भएको पनि बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाह हुन सकेका छैनन् । भूकम्पका कारण पुराना घर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै नभत्केको घरहरू पनि भित्ता फाँटेर बस्न नमिल्ने भएको छन् ।

भूकम्पबाट भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा मानवीय तथा भौतिक संरचनाको ठुलो मात्रामा क्षति भएको छ । जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा भूकम्पले ९१ विद्यालय पूर्ण क्षतिग्रस्त भएका छन् भने एक सय २२ विद्यालयमा आंशिक क्षति भएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख रमेश मल्लले बताउनुभयो ।

स्वास्थ्य संस्थाका भवनहरू क्षतिग्रस्त भएपछि त्रिपालबाट सेवा प्रवाह भइरहेका छन् । त्रिपाल र खुल्ला आकासमुनीको बसाईले सुत्केरी, गर्भवती महिला, बालबालिका र जेष्ठ नागरिकको दैनिकी कष्ठपूर्ण भएको छ ।

शिवालय गाउँपालिकाका ४, कुशे गाउँपालिकका ९, जुनीचाँदे गाउँपालिका २, बारेकोट गाउँपालिका ९, भेरी नगरपालिका १३, नलगाड नगरपालिका १३, छेडागाड नगरपालिका १३ गरि जम्मा ६३ वडा प्रभावित भएका छन् । कुशेमा ४ महिला र ३ पुरुष, बारेकोटमा २ महिला र १ पुरुष, भेरी नगरपालिमा २१ महिला र १४ पुरुष, नलगाडमा २७ महिला र २७ पुरुष र थप २ महिला गरि जम्मा ५६ महिला र ४५ पुरुषको मृत्यु भएको छ भने ४९ महिला र ४५ पुरुष घाइते भएको छन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);