काठमाडौं,१६ कात्तिक । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले विपिन हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । इजरायली प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।
उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७÷७ जना नागरिकलाई बन्धक बनाएको बताइएको छ । एक सय १८ जना इजरायली नागरिक पनि हमासको नियन्त्रणमा रहेको जनाइएको छ ।
बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चार बन्धकलाई रिहा गरेकामा कतार र कतारी अमिरलाई धन्यवाद दिएका थिए ।