काठमाडौं, १५ कात्तिक । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी सेरो को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालका उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदबीच प्रतिस्पर्धा छ । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ बलियो भएको विश्लेषण गरिएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।
म्यानमारको सैैनिक शासनलाई राष्ट्रसंघले मान्यता नदिएकाले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो । यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् । संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उनीहरुले भनेका छन् ।
संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा राव, सिड्नी विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका सेई अबिम्बोला, डब्ल्यूएचओ सेरोका पूर्व निर्देशक डा. स्वरुप सरकार लगायत छन् ।




