काठमाडौं, २२ असोज । सरोकारवालाहरुले विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिनुभएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन् । सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिणपूर्वी एशिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भुमिका समेत नलिएको गुनासो गरे । आगामी अक्टोबर ३० देखि दक्षिण पूर्वीएशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ । दक्षिणपूर्वी एशियामा नेपालसहित बंगलादेश, भूटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन् । आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गरेको अनुभव छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षिय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आउनुभएको छ । उनीहरुले नेपाल सरकारले डा.आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गर्नुभयो । अधिकारकर्मी कनकमणी दिक्षितले सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताउनु भयो । उहाँले पछिल्लो केही समय यता परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पछाडी हट्न खोजेको हो की ? भन्दै प्रश्न गर्नुभयो ।
दिक्षितले भन्नुभयो, ‘क्षमतावान उम्मेद्वार अन्तर्राष्ट्रिय पोष्टको लागि नेपालले बिरलै पेश गर्न पाउँछ । विश्व स्वास्थ्य संगठन जस्तो टेक्निकल, नन पोलिटिकल पोजिसनमा सहभागी हुन पाउनु धेरै गौरवको विषय हो । नातावाद, कृपावाद पनि नेपालको क्यान्डीडेटमा लागू हुँदैन । सार्क देशमा बंगलादेश र नेपालबीच निकै सौहार्दपूर्ण सम्बन्ध कायम छ । एउटा देशको सरकार प्रमुख नातावादकै कारण नेपालको आफ्नो सक्षम क्यान्डीडेटका लागि चुनौति खडा हुन पुग्यो । अब यस्तो बेलामा बंगलादेश रिसाउला की भनेर नेपाल पछि हट्ने हो त ? नेपाल सरकारबाट डा.शम्भुु आचार्यलाई औपचारीक अनुमोदन त छ । तर, एक हदसम्म पछाडी हट्न चाहेको हो की । क्याबिनेटले नै डा.आचार्यलाई उम्मेदवारीमा प्रश्ताव गरेको हो । वर्तमान परराष्ट्र मन्त्री एनपी साउद पछाडी हट्न खोजेको मैले बुझेको छु । सदनमा डा.शम्भु आचार्यको उम्मेदवारी सम्बन्धी प्रश्न उठाउँदाखेरी हाम्रो परराष्ट्र मन्त्रीको प्रतिकृया के रह्यो भनेदेखि किन त्यसरी बोल्न परेको ? यसले नै चिसो पस्ने भयो की हाम्रो मुटुमा । कसैले उहाँमाथी दबाब पारेर यो व्याक हुनुपर्छ भन्ने लगाको हो की भन्नेकुरा । हामीलाई थाहा छ वर्तमान सरकार कम्फरटेबल सरकार हो । बंगलादेश र भारतबीचको सम्बन्ध र सम्पर्क दुई सरकार प्रमुखबिचको हामिलाई थाह छ । त्यो भएपछि भारतपनि रुस्ट होलाकी भन्ने हिसाबले नेपालले क्यान्डीडेटबाट पछाडी हट्छ की भन्ने चिन्ता जाग्नु स्वभाविक नै हो । किनभने अरु हिसावले देखिएकै छ । हाम्रै सरकारले अलिकति खुट्टा लर्बराएको हो की अलिअलि तर्सेको हो की अलिअलि ईसारामा चल्न खोजेको हो की जस्तो देखिएको छ । ’
जनस्वास्थ्यविद् प्रा.डा.रिता थापाले आचार्य क्षेत्रिय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताउनु भयो । डा.थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आवद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वभाविक रहेको बताउनु भयो । उहाँले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताउनु भयो ।
डा.थापाले भन्नुभयो, ‘शम्भु आचार्य एक्सपर्ट हुनुहुन्छ । ३० वर्ष जति सामुदायिकस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्नुभएको छ । भोलि महामारी आउन सक्छ । महामारी स्वास्थ्य क्षेत्रमा मात्रै होइन । बहुक्षेत्रिय हुन्छ । यो समाधान गर्न अनुभव र क्षमता चाहिन्छ । यो कुरा सम्भु आचार्यमा छ । सन् १९५३ देखि नेपाल विश्व स्वास्थ्य संगठनमा आवद्ध छ । नेपालले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि राम्रो काम गरिरहेको छ । यो त नेपालले पाउने सम्मान हो । सरकारले त उहाँलाई सपोर्ट गरेको छ । तर, अर्को देशको दाँजोमा हाम्रो देशले हाइएष्ट गेरमा लैजानुप¥यो ।’
अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव संगाल्नुभएका विश्व पराजुलीले विश्व स्वास्थ्य संगठनको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशकको महत्वपूर्ण भुमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गर्नुभयो । पराजुलीले आचार्यले जिते दक्षिणपूर्वी एशियाका साथै नेपाललाई पनि फाइदा पुग्ने बताउनु भयो ।
पराजुलीले भन्नुभयो, ‘विश्व स्वास्थ्य संगठनमा क्षेत्रीय निर्देशकको धेरै ठूलो भुमिका हुन्छ । क्षेत्रिय निर्देशकले कन्ट्री लेभलमा कस्तो किसिमको सहयोग गर्ने, के के कुरामा सहयोग गर्ने भन्ने कुरामा फरक पर्छ । कस्तो कार्यक्रम विकास गर्ने भन्ने कुरामा प्रभाव पार्छ । त्यसकारण त्यो हिसावबाट नेपालको उम्मेद्वार शम्भुप्रसाद आचार्य हुनुहुन्छ । नेपाल सरकारले आचार्य ज्युलाई नोमिनेट गर्नु गौरवको कुरा हो । दक्ष नेपाली यो पोष्टमा हुनुभयो भने सबै नेपालीलाई गौरव हुन्छ । उहाँको योगदानले साउथ इष्ट्रन रिजनका साथै नेपाललाई पनि फाइदा गर्छ ।’
डब्लुएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण–पूर्वी एशिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । आचार्यसँगै प्रतिष्पर्धामा बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद हुनुहुन्छ । आचार्य डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्टाटेजी एण्ड सपोर्ट डिपार्टमेण्ट’ को निर्देशक पदमा छन् ।




