काठमाडौं, १९ असोज । बाँकेको नेपालगन्जमा आज पनि निषेधाज्ञा जारी गरिएको छ । नेपालगन्ज अहिले शान्त छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको विषयलाई लिएर पुुनः विवाद हुन सक्ने देखिएपछि फेरी निषेधाज्ञा जारी गरिएको हो ।
बिहीबार राती ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिदैं प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बिहान ६ बजेदेखि राती ८ बजे निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् । प्रशासनले शुक्रवार राति ८ बजेदेखि शनिवार बिहान ६ बजेसम्म साबिककै क्षेत्रमा कायम रहनेगरि कर्फ्यु आदेश जारी गरेको छ ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो । प्रशासनले सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि जिल्लावासीमा अपिल समेत गरेको हो ।
बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र मङ्गलबार दिउसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबार बिहान ८ बजे हटाएर पुन बिहीबार राती ८ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।