कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा आंशिक निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा आंशिक निषेधाज्ञा

कञ्चनपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र त्यसको असर सीमा जोडिएकोले कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले विभिन्न आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आदेश गरिएको छ । त्यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने छ ।

अन्य नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द हुने आदेशमा उल्लेख छ । अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरूको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र मापदण्डको पूर्ण पालना गरी गर्न पाउने भनिएको छ । सबै व्यक्तिहरूले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेलगायतका आदेश जारी गरिएको छ ।

आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै सुदुरपश्चिमकै बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);