कान्तीदेवीको हत्यामा संलग्न २ जना जेठाजु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

कान्तीदेवीको हत्यामा संलग्न २ जना जेठाजु पक्राउ

पर्सा,१७ असोज । हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोल बस्ने ५६ वर्षीया कान्ती देवी वीनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोल बस्ने ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत वीन तथा मृतकका जेठाजुहरू सोही ठाउँ बस्ने ५९ वर्षीय चन्द्रिका राउत वीन र ५७ वर्षीय अमिका भन्ने अमीरीका राउत वीन रहेका छन् ।

गत असोज २ गते दिउँसो आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्ती देवीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लालबाबु राउतलाई असोज ७ गते पक्राउ गरेको थियो । थप सोधपुछ एवम् अनुसन्धानको क्रममा चन्द्रिका राउत र अमीरीका राउत समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कान्ती देवीको घरमा चोरी गर्ने योजनाका साथ असोज १ गते राति सुरूङ बनाइ (सेनकाटी) घरभित्र प्रवेश गरेर चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा कान्ती देवी बिउँझी उनीहरूलाई चिने पश्चात पोल खुल्ने डरले खुर्पीले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply