सकरात्मक नतिजा आउनेमा विश्वस्त छौँ : कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

सकरात्मक नतिजा आउनेमा विश्वस्त छौँ : कप्तान पौडेल

काठमाडौं, १४ असोज । नेपालले १९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा आईतवार माल्दिभ्समाथि १३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोरी टोली माल्दिभ्समाथि जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । मंगोलियाबिरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपाल माल्दिभ्सबिरुद्ध पनि रबाफिलो जित निकाल्यो । दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा अलआउट भयो । नेपालको बलिङमा अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धरासायी बनाए ।

सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए । उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे । उनी १६ औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए । त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिअुसले १० रन जोडे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङ दुई बल अगाडि नै समेटियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए । शुरुवातदेखि नै आक्रामण खेलेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्य क्रमका ब्याटर गुल्सन झाले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए ।

तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाएपनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिएपनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

अब नेपालले क्वार्टरफाइनलमा पाँच टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिष्पर्धा गर्नेछ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र सकरात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले अविनाश ट्वान्टी–२० क्रिकेटमा राम्रो बलर रहेको र उनले लयमा प्रदर्शन गर्नु सुखद् पक्ष रहेको धारणा राख्नुभयो ।

माल्दिभ्सबिरुद्ध ६ विकेट लिएका अविनाशले यो पिचमा ब्याटिङ गर्न त्यति सहज नरहेको उल्लेख गर्दै यहाँबाट पदक लिएर फर्किने विश्वास रहेको बताए ।

क्वार्टरफाइनलको ‘ड्र’ सोमवार हुनेछ । क्वार्टरफाइनलका खेल भने मंगलवार र बुधवार शुरु हुनेछन् । नेपाल क्वार्टरफाइनल खेल जित्दै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);