२१ बैशाख, काठमाडौ । व्यवस्थापिका संसदको बिहिबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध पार्ने चेतावनी दएपछि संसदको बैठक सूचना टांसेर स्थगित भएको हो । एमालेले महाअभियोग फिर्ता लिन वा संसदको प्रक्रियामा लगेर ४–५ दिनमा नै टुंगो लगाउन माग गरेको छ । बिहीबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गरिसक्नु पर्ने भन्दै भोटिङ गर्ने दिन संसद बैठक अघि नै तय हुनुपर्ने शर्त राख्नुभएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले यही अडान राख्नुभएको थियो ।
दलहरुबीच सहमति नजुटेपछि सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिका लागि भन्दै सूचना टाँसेर संसद बैठक स्थगित गर्नुभयो । संसद बैठक शुक्रवार बिहान १० बजे बस्नेछ ।